कांग्रेसका दुइ महामन्त्री जाजरकोट जाँदै, त्यहीँ बसेर सहयोग समन्वय गर्ने
-आस्था न्यूज
कात्तिक २२, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदैछन्। उनीहरुले जाजरकोटमै बसेर राहत र पुनस्र्थापनाको अनुगमन गर्दै सरकारलाई सुझाव दिने छन्।
जाजरकोटको भूकम्पबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली मर्माहत र स्तब्ध भएको स्थिति भएकाले यो विपत्तिको सामना सबै राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर एकताबद्ध भएर गर्न नेपाली कांग्रेसले आव्ह्वान गरेको छ।
नेपाली कांग्रेसले उद्धार, राहत र पुनस्र्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गर्दै विभिन्न कार्यविभाजन पनि गरेको छ।
जसमा उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन, सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक कार्यक्रमहरु स्थगन, कयौं जिल्लाबाट पार्टीका स्वयंसेवकहरु राहत लिएर प्रभावित क्षेत्रमा, शुभेच्छुक संस्था ‘डिडिए’ को संयोजनमा चिकित्सक र औषधी प्रवन्ध, पार्टीको धारणा र सुझाव (तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने अत्यावश्यक कार्यहरू) सहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराईने भनेको छ ।