Trending :
 

गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा

कार्तिक २४,२०८०

-आस्था न्युज

कात्तिक २४, २०८० काठमाडौं ।
गोरखाको लोक्पा गाउँका २२ घर सुख्खा पहिरो जोखिममा परेका छन् । गोरखाको विकट चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित लोक्पामा बुधवार देखि सुख्खा पहिरो जान थालेपछि जोखिम बढेको हो । 
 
लोक्पा गाउँ नजिकै गत बर्ष असोजमा परेको पानीले पहिरो गएको ठाउँमा फेरी सुख्खा पहिरो जान थाले पछि जमिन समेत चिरा परेर घरहरु जोखिममा परेको चुमनुब्री गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामाले जानकारी दिए ।
 
 पहिरोले गोरखाको चुम उपत्यका जाने पर्यटन पदमार्गमा समेत क्षति पुगेकोले १ घण्टा टाढा अस्थायी बैकल्पीक बाटो मार्फत जोखिमपूर्ण तरिकाले पर्यटक र स्थानीय हिड्डुल गर्नुपरेको स्थानीय सेराप गुरुङ्गले बताए । 
 
उनले भने, ‘वडा नं ६ र ७ बीच खाद्यान्न ढुवानीका लागि खच्चड हिडाउन समेत कठिनाई भएको छ । पहिलोले स्थानीय लाक्पा दोर्जे लामाको झण्डै १०/११ रोपनी बारी र घर बस्नै नहुने गरी क्षति पुगेको छ ।’ 
 
बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दिर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकार संग माग गरिने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाई छ । गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रा पछि मात्र लोक्पा पुगिन्छ ।