Trending :
 

शृंखलाबद्ध लुटपाट घटनामा संलग्न समूह हतियारसहित पक्राउ

कार्तिक २४,२०८०

-आस्था न्युज

कात्तिक २४, २०८० काठमाडौं ।
मोरङका विभिन्न स्थानमा हतिनयार देखाएर धम्क्याउँदै शृंखलाबद्ध लुटपाटको घटनामा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
 
गत भदौ महिनामा मोरङको विभिन्न स्थानमा भएका धनमाल लुटका घटनामा संलग्न समूहका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गर्ने काममा उनीहरु सक्रिय रहेको प्रहरीको भनाइ छ ।
 
शृंखलाबद्ध लुटका घटना बढेपछि प्रहरीले ‘अपरेसन सिएरा ब्राभो कन्ट’ अभियान चलाएको थियो ।
 
उक्त अभियानका क्रममा लुटपाटमा संलग्न समूहका सातजनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।
 
पक्राउ पर्नेमा ४० वर्षीय रिजवान मियाँ, २४ वर्षीय नजरुल मियाँ, ३१ वर्षीय मोहम्मद अलि, मुरताजा मियाँ, ३० वर्षीय नजरूल मियाँ र ४० वर्षीय मोहम्मद आलम छन् ।
 
उनीहरुले प्रयोग गरेको मोबाइलको ‘लक’ खोलेर आपराधिक काममा सहयोग गर्ने मोबाइल पसल सञ्चालक ३० वर्षीय सिजाम आलमलाई १ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।
 
उनीहरुको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट केही समयअघि लुटिएको चिनियाँ पेस्तोल, मोबाइल फोन १६ वटा, मेमोरी कार्ड १२ बरामद गरिएको प्रहरीले जनाएको छ ।
 
यसैगरी उक्त समूहको साथबाट प्रहरीले १ लाख ७५ हजार २ सय ७५ रुपैयाँ र ११ हजार ६ सय भारतीय रुपैयाँका साथै दुईवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
 
डाँका चोरी र संगठित अपराधअन्तर्गत अनुसन्धान गरी उनीहरुमाथि मुद्दा चलाइएको छ ।