Trending :
 

अलैँची निकासीमा उल्लेख्य वृद्धि

कार्तिक २६,२०८०

-आस्था न्युज

कात्तिक २६, २०८० काठमाडौं ।
कोशी प्रदेशका पहाडी जिल्लाको मुख्य उत्पादन मध्येको अलैँची निकासी उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा अलैँची निकासी ५६ प्रतिशतले बढेको हो ।
 
यो आर्थिक वर्षको साउन, भदौ र असोजमा गरी एक अर्ब ८९ करोड ७६ लाख रुपैयाँको अलैँची निकासी भएको हो ।
 
गत वर्षको सोही अवधिमा एक अर्ब २० करोड ६१ लाख रुपैयाँको अलैँची निकासी भएको थियो । विदेशमा अलैँचीको माग बढेपछि निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ ।
 
ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम लगायत जिल्लामा अलैँची खेती प्रशस्त हुने गरेको छ ।
 
ती जिल्लामा उत्पादित अलैँची झापाको बिर्तामोडमा संकलन गरी व्यवसायीहरुले भारत र अन्य मुलुकमा निर्यात गर्ने गरेका छन् । मुख्य गरी भारत र पाकिस्तानमा अलैँची जाने गरेको व्यवसायीहरु बताउँछन् । यसैगरी केही परिमाण अलैँची इटाली, जर्मनी र अमेरिकामा पनि निर्यात हुने गरेको छ ।
 
आर्थिक वर्ष २०७८-७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो ।
 
पूर्वी पहाडी जिल्ला र अरु जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ ।
 
उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ ।