Trending :
 

नेपाल संवत् कुनै जाति विशेषको संवत् हैन, यसप्रति सबै नेपालीले गौरव गर्नुपर्छ: अध्यक्ष बज्राचार्य

कार्तिक २६,२०८०

-आस्था न्युज

कात्तिक २६, २०८० काठमाडौं ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति-११४४ का अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यले विश्वमै देशको नाममा स्थापित संवत् नेपाल संवत् मात्र भएको र यो नै यस संवत्को विशेषता भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)का नायब महाप्रबन्धक राजु शाक्यलाई दिनुभएको अन्तर्वार्तामा अध्यक्ष बज्राचार्यले भन्नुभयो, “नेपाल संवत् देशकै नामबाट स्थापित छ, यो गौरवको कुरा हो । तर यसको अनुभुति सबै नेपालीले गर्न पाएका छैनन् किनभने यसको राष्टिय स्तरमा पचार हुन पाएको छैन । नेपालले सगरमाथाको देश, बुद्धको देश, सीताको देश भनेर मात्रै हैन, गौरवका साथ आफ्नै संवत् नेपाल संवत्लाई पनि हामीले विश्वमै चिनाउनु पर्छ ।” 
 
विसं २०५६ मंसिर २ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दियो । त्यस्तै, २०६५ कात्तिक ७ ९ने। सं ११२८ कौलागा दशमी० मा २०६२÷६३ को जनआन्दोलनको बलमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको हो । त्यसपछि, हुलाक टिकट तथा पत्रपत्रिकामा समेत नेपाल संवत् उल्लेख हुन थाल्यो ।  
 
नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइसकिए पनि यसलाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “सबै जनताले यो संवत् साझा हो भनेर अपनत्व ग्रहण गर्न दिन सरकारले नै नीतिगत व्यवस्था गर्नुपर्छ । सरकारले केही माग सम्बोधन त गरेको छ तर, जति आवश्यक हो त्यो गर्न सकिरहेको छैन ।” 
 
वैज्ञानिक समय तालिकासहितको यस संवत्को धार्मिक तथा सामाजिक जीवनमा दैनिक रुपमा प्रयोग त भइआएको छ, यसलाई सरकारको दैनिक कामकाजमा पनि अपनाउन सकिए सरकारले राष्ट्रिय मान्यता दिएको सार्थक हुनेछ र विश्वमै छुट्टै अस्तित्वसहित नेपाल संवत् चिनिने छ । कर्मचारीतन्त्रले यो संवत्माथि विश्लेषण नै नगरी व्यवहारमा लागू गर्न कठिन छ भनिदिँदा चाहेर पनि यसलाई व्यवहारमा उतार्न नसकिएको धारणा उहाँ राख्नुहुन्छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल संवत् लागू गर्ने वचन दिनुभएको तर कार्यान्वयन हुन नपाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “कर्मचारीहरुसँग नम्र निवेदन छ पूर्वाग्रह नराखी यसबारे अध्ययन गरिदिनोस् । जहाँ जहाँ दुविधा हुन्छ, अन्य पात्रोहरुको सहयोग लिए भइहाल्यो ।” यो सवत्लाई मन्त्रिपरिषद्को बैठक पुस्तिकामा प्रयोग गरिदिन उहाँले सरकारसँग आग्रह पनि गर्नुभयो ।  
 
सामान्यतया राजा महाराजाबाट संवत् स्थापना गर्ने चलन थियो । कोही कोही धर्मभीरु व्यक्तिले पनि संवत् स्थापना गर्न सक्दछ । अध्यक्ष डा। बज्राचार्यका अनुसार शंखधर साख्वाः एक आमनागरिक थिए र उनको राज्य सत्तामा कुनै पहुँच थिएन । आफूलाई प्राप्त भएको अपार सम्पत्तिबाट उनले सर्वसाधारणको क्रृण मोचन गरिदिए र संवत् चलाउने उनको इच्छालाई तत्कालीन राजाले सहर्ष स्वीकारिदिए । त्यसकारण एक नागरिकले देशको नाममा स्थापना गरेको यस संवत्प्रति सब नेपालीले गर्व गर्नुपर्छ भन्ने मत उहाँ राख्नुहुन्छ ।