जीप दुर्घटना अपडेटः मृतक चार जनाको सनाखत
-आस्था न्युज
कात्तिक २६, २०८० काठमाडौं ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक बौदीकाली-६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका-४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जीपमा सातजना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।