Trending :
 

रामेछापको ‘सेफहाउस’ तीन वर्षदेखि प्रयोगविहीन

मंसिर ०३,२०८०

-आस्था न्युज

मंसिर ३, २०८० काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका-१ आकाशेमा नवनिर्मित अल्पकालीन सेवा केन्द्र (सेफहाउस) तीन वर्षदखि प्रयोगविहीन भएको छ । हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षणका लागि निर्माण गरिएको उक्त केन्द्र तीन वर्षदेखि अलपत्र परेको हो । 
 
सामाजिक विकास मन्त्रालयअन्तर्गत सार्वजनिक सेवा इकाई धुलिखेलको रू ७० लाख र स्थानीय जनश्रमदानमार्फत रू सात लाख गरी कूल रू ७७ लाखमा निर्माण गरिएको उक्त भवन नगरपालिकाले चासो नदेखाउँदा अलपत्र परेको स्थानीयवासी बताउँछन् । 
 
“प्रयोगमा नआउँदै भवनको पेटी चिराचिरा परेको छ, भने झ्यालढोकासमेत भत्किन लागिसकेको छ । सेफहाउस तत्कालै सञ्चालनमा ल्याउनु जरुरी छ”, स्थानीय वीरेन्द्र श्रेष्ठले भन्नुभयो । लाखौ रुपैयाँ खर्चेर निर्माण गरिएको भवन अलपत्र परेको जनाउँदै नगरपालिकाले कृषि ज्ञानकेन्द्रको गोदाम घरमा सेफहाउस सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
 
गोदाम घरमा सेफहाउस सञ्चालन गर्दा ठाउँको अभाव हुनुका साथै असहज भएको सेफहाउसका व्यवस्थापक सम्झना श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिले वडा कार्यालयलाई भवन जिम्मा लगाए पनि सञ्चालन हुन सकेको छैन । 
 
समितिले कागजी रुपमा वडा कार्यालयलाई भवन हस्तान्तरण गरे पनि भवनको साँचो नबुझाएको मन्थली–१ का वडाध्यक्ष होमप्रासद पौडेलले बताउनुभयो । साँचो हस्तान्तरण गर्न नगरपालिकाले समितिलाई पत्राचार गरिसकेकाले सेफहाउस छिट्टै आफ्नै भवनबाट सञ्चालन हुने नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार महिला सचेतना मञ्चले नामक संस्थाले उपभोक्ता समितिको रुपमा उक्त भवन निर्माण गरेको थियो ।