Trending :
 

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि कान्ति लोकपथ सडक अवरुद्ध

मंसिर ०३,२०८०

-आस्था न्युज

मंसिर ३, २०८० काठमाडौं ।
मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । हेटौँडा-६ चौघडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको हो भने घटना पछि सडक अवरुद्ध पारिएको छ ।
 
ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर-६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौँडा ६ स्थित शान्ति टोलमा हेटौँडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिएको जानकारी दिए। बजगाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
बजगाईँको मृत्युपछि आक्रोशित बनेका स्थानीयले कान्ति लोक पथ सडक अवरुद्ध पारेका छन् । उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
 
सडक खुलाउन घटनास्थलमा करिब एक सय जना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जाएको छ ।