टिकटक प्रतिबन्ध विरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

मंसिर ०४,२०८०

-आस्था न्युज

मंसिर ४, २०८० काठमाडौं । 
टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबारबाट सुनवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता स्वागत नेपाल र जगन्नाथ दुलाल लगायतले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको थियो। सोही आजैबाट सुनवाइ हुन लागेको हो।
 
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन अर्थात् मंसिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेका थिए। उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेसी तोकिएको अदालतले जानकारी दिएको थियो।
 
शनिबार तथा आइतबार छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेसी तोकिएको हो। सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै निवेदकहरुले सो निर्णय बदर गरी टिकटकमा लगाइएको प्रतिबन्ध तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।