शैक्षिक भ्रमणमा लगिएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
-आस्था न्युज
मंसिर ४, २०८० काठमाडौं ।
इलाममा शैक्षिक भ्रमणमा हिँडेका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।
आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाका अनुसार धानुषाधाम नगरपालिका-९ धारापानीका २० वर्षीया गणेशकुमारी मोक्तानको अनुहारमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा परी घाइते सोही ठाउँ बस्ने ११ वर्षीया समीक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरिका लामा र ९ वर्षीया रिजा लामाको अवस्था पनि सामान्य रहेको प्रहरीको भनाइ छ।