Trending :
 

मंसिर ९ देखि काठमाडौंमा तीन दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने

मंसिर ०४,२०८०

-आस्था न्युज

मंसिर ४, २०८०  काठमाडौं ।
आयुर्वेद मेडिकल डेभेलोप्मेन्ट एण्ड रिसर्च फाउण्डेशनको आयोजनामा नेपालमा ‘पहिलो अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३’ हुने भएको छ । 
 
मंसिर ९ देखि ११ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त सम्मेलन हुने भएको हो ।
 
आयोजक संस्था एएमडिआरएफ आयुर्वेद चिकित्सा विधाको सर्वाङ्ग विकासमा लागिपरेको संस्था हो । उक्त संस्थाले आयुर्वेदको चिकित्सीय गुण समाजसमक्ष पस्कन रक्तदान, स्वास्थ्य शिविर तथा विभिन्न सचेतनामूलक कार्यक्रम र क्रियाकलापहरु गर्दै आएको छ ।
 
यस वर्षको सम्मेलनको मूल नारा ‘कृत्रिम बुद्धिमताको युगमा आयुर्वेद जीवनशैली प्राप्त गर्नु’ रहेको छ । आयुर्वेद सिद्धान्तले रोगको उपचारमात्रलाई प्राथमिकतामा नराखेर स्वास्थ्य राम्रो राख्ने र दीर्घायु बनाउनेलाई पनि प्राथमिकतामा राख्छ । यस कार्यक्रमबाट हाम्रो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी ज्ञान हासिल हुने आयोजकको दाबी छ ।
 
कार्यक्रममा उक्त सम्मेलनको बारेमा डा. विजेन्द्र साह, डा. साहारा श्रेष्ठ र डा. निर्मल भुषालले जानकारी दिएका थिए । सो क्रममा डा. साहारा श्रेष्ठले आयुर्वेदको अझै वृद्धिविकास होस भन्ने आफूहरुको चाहना रहेको डा. साहाराको भनाई छ । उनले आयुर्वेद औषधीबारे नकारात्मक सन्देश प्रवाह भैरहेको उल्लेख गर्दै त्यसलाई चिर्नको लागि पनि यो सम्मेलन फलदायी हुने दाबी गरिन् ।
 
एएमडिआरएफका अध्यक्ष डा. विजेन्द्र साहले आफूहरुको यो सम्मेलन पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम भएको सुनाए । उनले आफूहरुको संस्थाले आयुर्वेदको विकासको बारेमा वकालत र काम गरेको बताए । 
 
उनले नेपालका जडिबुटीका महत्वबारे नेपालीले थाहा पाउनुपर्नेमा जोड दिए । उनले नेपाल आयुर्वेद टुरिजमको हब हुनसक्ने पनि सम्भावना सुनाए । 
 
उनले नेपालमा सरकारले आयुर्वेदलाई त्यति प्राथमिकता नदिएको र बजेट पनि यथोचित प्रदान नगरेको गुनासो पोखे । उनले सम्मेलन आयुर्वेदको लागि कुम्भमेला नै हुने पनि जानकारी दिए । 
 
उनका अनुसार सम्मेलनमा विभिन्न देशबाट ४ सय जना डेलिगेट्स आउन लागेको र नेपालबाट भने साँढे तीन सय जनाको प्रतिनिधित्व रहनेछ । तीन दिने सम्मेलनमा आयुर्वेदका विद्धानहरुले आ-आफ्नो रिसर्च पेपर पनि प्रस्तुत गर्ने उनले जनाए । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागिताका लागि निम्तो गर्न लागिएको पनि उनले जनाए ।
 
यसअघि नेपालमा आयुर्वेदको क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयुर्वेदका हस्तीलाई सम्मान गर्ने कार्यक्रम संस्थाले गरिसकेको छ । उपराष्ट्रपति तथा काठमाडौं महानगरपालिका प्रमुखको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 
 
युवा अनुसन्धानकर्ता र उद्यमी पनि उक्त कार्यक्रममा सम्मानित भएका थिए । कार्यक्रममा आफ्नो संस्थाको सूचनामूलक पत्रिकाको पनि विमोचन भएको थियो ।