टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
-आस्था न्युज
मंसिर ५, २०८० काठमाडौं ।
सर्वोच्च अदालतले नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा कारण देखाउन सरकारलाई आदेश दिएको छ।
सरकारले कार्तिक २७ गते गरेको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएका थिए। तिनलाई एकैठाउँ राखेर उक्त मुद्दामा मङ्गलवार सुनुवाइ थालिएको हो।
न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश दिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। इजलासले सरकारलाई १५ दिनभित्र कारण सहितको जवाफ पेस गर्न आदेश दिएको छ। यो मुद्दाको अर्को सुनुवाई मङ्सिर १९ गते तोकिएको छ, घिमिरेले भने।
अदालतले यो रिटमा कानुन व्यवसायीहरूको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्दै मन्त्रिपरिषद्ले नेपाली इन्टरनेटमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतमा टिकटकमाथि लागेको प्रतिबन्धविरुद्ध विभिन्न मुद्दा दर्ता भएका थिए।
नेपालमा टिकटक बन्द गर्ने निर्णय मौलिक हकविरुद्ध रहेको र त्यसले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दाबी निवेदकहरूको छ।
उनीहरूले नेपालमा टिकटक बन्द गर्न मिल्ने कानुनी आधार नरहेको बताउदै आएका छन् ।