Trending :
 

टी २० विश्वकप अफ्रिका रिजन छनोटमा जिम्बाबे पराजित

मंसिर ०७,२०८०

-आस्था न्युज

मंसिर ७, २०८० काठमाडौं ।
आईसीसी टी २० विश्वकप क्रिकेटको अफ्रिका रिजन छनोटको पहिलो दिन बुधबार ३ वटा खेल सम्पन्न भएका छन् । नामिबियामा सुरु भएको टी-२० विश्वकप अफ्रिका छनोट क्षेत्रीय फाइनलको पहिलो दिन केन्याले रुवाण्डालाई १७ रनले, युगान्डाले तान्जानियालाई ८ विकेटले र नामिबियाले जिम्बाब्वेलाई ७ विकेटले पराजित गरेका छन् । तीनवटै खेल विन्डहोकमा खेलिएका थिए ।
 
पहिलो खेलमा केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५४ रन बनाएको थियो ।  जवाफमा रुवाण्डाले पुरै ओभर खेल्दा पनि ४ विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो ।
 
ब्याटिङका क्रममा ४३ बलमा अविजित ६३ रन बनाएर मैदानमा दुई क्याच लिएर केन्याका इरफान करिम प्लेयर अफ द म्याच घोषित भए ।
 
तान्जानियाविरुद्धको दोस्रो खेलमा युगान्डा २८ बल बाँकी रहँदै ८ विकेटले विजयी भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन बनात्र बनायो। जवाफमा युगान्डाले १५.२ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।
 
युगान्डाका रियाजत अली शाहले अलराउन्ड प्रदर्शनका लागि खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए ।
 
यस्तै, तेस्रो खेलमा नामिबियाले जिम्बाब्वेलाई ३२ बल बाँकी रहँदा ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पहिले खेलेको जिम्बाब्वेले क्रेग इर्विनको ३६ रनको सहयोगमा २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । जवाफमा नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर जित हात पारेको थियो । नामिबियाका निकोलस डेभिनले ४५ बलमा ८९ रन बनाएका खेलको प्लेयर अफ द म्याच घोषित भए ।
 
प्रतियोगिता अन्तर्गत आज २ वटा खेल हुने छन् । प्रतियोगिताको चौथो खेल केन्या र नाइजेरियाबीच हुनेछ । पाँचौं खेल तान्जानिया र जिम्बाब्वेबीच हुनेछ ।
 
यो क्वालिफायर मार्फत अर्को वर्ष हुने टी २० विश्वकपका लागि २ टोली छनोट हुने छन् । अफ्रिका छनोटमा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । अंकका आधारमा शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको विश्वकपमा स्थान पक्का गर्ने छन् । टी २० विश्वकप वेस्टइन्डिज र अमेरिकामा हुँदै छ । उक्त विश्वकपका लागि एसिया रिजनबाट नेपाल र ओमानले स्थान पक्का गरिसकेका छन् ।