त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुलाई दुई वर्ष कैदको फैसला
पीडितलाई २८ लाख १७ हजार क्षतिपूर्ति भराउने आदेश :
-आस्था न्युज
मंसिर ७, २०८० काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।
२०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो । घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरु रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक प्रेम बहादुर चलाउनेलाई उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
साथै प्रतिवादीहरुलाई जनही २० हजार रुपैयाँ जरिवानाको फैसलासमेत भएको छ । घटनामा सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने अदालतले सफाइ दिएको छ ।
प्रेम बहादुर चलाउनेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो । तर काठमाडौँ जिल्ला अदालतले भने आक्रमणकारीले टाउकोमा प्रहार नगरेको र ज्यान मार्ने उद्योगभन्दा पनि शरीर अङ्गभङ्ग गराउने उद्देश्यले आक्रमण गरिएको र गराइएको भन्दै उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ मा अङ्गभङ्ग गर्न नहुने सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा १ अनुसार अङ्गभङ्ग गराएमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
सोही दफाको उपदफा ५ मा अङ्गभङ्ग भएको खत वा घाउ निको भई काम लाग्ने भएमा तीन वर्षसम्मको कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।