Trending :
 

पहिलो टी-२० खेलमा भारतको रोमाञ्चक जित

मंसिर ०८,२०८०

-आस्था न्युज

मंसिर ८, २०८० काठमाडौं । 
भारतले पहिलो टी–२० खेलमा अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ । यस खेलमा रिंकु सिंहले उत्कृष्ट प्रदर्शन गरे ।  
 
भारतका नयाँ कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे जुन गलत साबित भयो । अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई २०९ रनको कठिन लक्ष्य दिएको थियो । उक्त लक्ष्य भारतले अन्तिम ओभरमा पूरा ग¥यो । रिंकु सिंहले छक्का प्रहार गर्दै खेलको अन्त्य गरे । टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो लक्ष्य हासिल गर्दै भारतीय टोलीले नयाँ कीर्तिमान बनाएको छ ।
 
पहिले ब्याटिङको निम्तो पाएपछि अस्ट्रेलियाका ओपनर स्टिभ स्मिथ र म्याथ्यु शर्टले आफ्नो टोलीलाई द्रुत सुरुवात दिँदै पहिलो विकेटका लागि ३१ रन जोडे। म्याथ्यु सर्ट १३ रन बनाएर रवि बिश्नोईको बलमा क्लिन बोल्ड भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका जोस इंग्लिसले स्मिथसँग १३० रनको विस्फोटक साझेदारी गरे । अर्को छेउमा स्टिभ स्मिथ संघर्षरत देखिए र उनले ४१ बलमा ८ चौका सहित ५२ रनको इनिङ खेले । 
 
जोस इंग्लिसले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक पूरा गरे । जोस इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्का सहित ११० रन बनाए । भारतका लागि रवि बिश्नोई र प्रसिद्ध कृष्णले १–१ विकेट लिए ।
 
२०९ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो । रुतुराज गायकवाड बल नखेल्दै शून्यमा आउट भए । अर्कोतर्फ यशस्वी जैसवालले तीव्र सुरुवात गरेपनि २१ रनमा म्याथ्यु शर्टको बलमा आफ्नो विकेट गुमाए । २२ रनमा २ विकेट खसेपछि कप्तान सूर्यकुमार यादव र इशान किशनले ११२ रनको धुवाँधार साझेदारी गरेका थिए । इशान किशनले ३९ बलमा २ चौका र ५ छक्का सहित ५८ रनको विस्फोटक इनिङ खेले । मध्यक्रममा तिलक वर्मा १२ रन बनाएर फ्लप भए ।
 
लगातार दुई विकेट खसेपछि सूर्यकुमार यादव र रिंकु सिंहले ४० रनको महत्वपूर्ण साझेदारी गरे । सूर्यकुमार यादवले ४२ बलमा ८० रनको उत्कृष्ट कप्तानी इनिङ खेले । उनले आफ्नो इनिङ्समा ९ चौका र ४ छक्का प्रहार गरे भने रिंकु सिंहले १४ बलमा २२ अविजित रन बनाए र २० औं ओभरको ५ औं बलमा भारतलाई छक्का दिए । तर छक्का नो बलका कारण मान्य भएन । नो बलको रन गणना गरियो र टीम इन्डिया विजयी भयो । अस्ट्रेलियाका तनभिर साघाले २ विकेट लिए । जितसँगै भारतले सिरिजमा १–० को अग्रता लिएको छ ।