Trending :
 

विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी विदेश राज्यमन्त्रीलाई आग्रह

मंसिर ०८,२०८०

-आस्था न्युज

मंसिर ८,२०८० काठमाडौं । 
परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीलाई हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । 
 
परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको अल–मुखैरीसँगको भेटका क्रममा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह  गरेको परराष्ट्र सचिवालयले जनाएको हो । 
 
विद्रोही समूह हमासले शुक्रबारबाट रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहमै जोशीलाई पनि रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले बताए । 
जवाफमा कतारी विदेश राज्यमन्त्री मुखैरीले रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएको जोशीले जानकारी दिए । 
 
भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेका छन् । 
 
यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । 
 
भेटका क्रममा अल–मुखैरी र साउदबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।