Trending :
 

दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी रहेको कांग्रेसको आरोप

मंसिर ०८,२०८०

-आस्था न्युज

मंसिर ८, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको आरोप लगाएका छन् ।
 
नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई शुक्रबार अर्घाखाँचीमा सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए ।
 
‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो । आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ,’ उनले भने ।
 
ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले दाबी गरे । 
 
‘दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन् । उनीहरूको दोहोरो उक्साहटमा प्रसाईंले आन्दोलन गरिरहेका हुन् । यसमा राजाको पनि अप्रत्यक्ष साथ होला । तर, बढी भूमिका प्रचण्ड–ओलीकै छ,’ उनले भने
 
सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिष्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको महरको आरोप छ ।
 
‘ओलीले वर्तमान सत्ताका खिलाफमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ । प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन् । प्रचण्ड र केपी ओलीका कमजोरीसँग प्रसाईं परिचित छन्,’ उनले भने
 
प्रचण्ड र ओलीका कमजोरी थाहा रहेकाले उनीहरू प्रसाईंको खिलाफमा जान नसक्दा अराजकताले प्रश्रय पाइराखेको महरले बताए ।