Trending :
 

पितृ स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण

मंसिर ०८,२०८०

-आस्था न्युज

मंसिर ८, २०८० काठमाडौं ।
झापा, गौरादह नगरपालिका-१ का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् । 
 
कटुवालले गौरादह-१ र कमल-१ को सिमानामा पर्ने माथ्लो किस्नी घाटमा रु २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अट्नसक्ने क्षमता भएको मलामी विश्रामस्थलको संरचना बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गर्नुभएको हो । मन्दिरसहितको नवनिर्मित विश्रामस्थलको कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज उद्घाटन गर्नुभयो । 
 
सो क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहनु भएका निर्वतमान मुख्यमन्त्री कार्कीले कटुवाल परिवारको सामाजिक देन प्रशंसनीय भएको उल्लेख गर्नुभयो । त्यस अवसरमा दाता परिवारले ती संरचनाको स्वामित्व माथिल्लो किस्नीघाट संरक्षणको जिम्मेवारी प्राप्त गौरादह-१ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै कार्यक्रममा दानवीर कर्णबहादुर कटुवाललाई सम्मानसमेत गरिएको थियो । 
 
प्रदेशसभा सदस्य अमर विष्ट, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, निवर्तमान गौरादह नगरप्रमुख रोहित साहलगायत सो क्षेत्रका राजनीतिक, सामाजिक व्यक्तित्वको उल्लेख्य उपस्थिति थियो ।