Trending :
 

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

मंसिर ०९,२०८०

-आस्था न्युज

मंसिर ९, २०८० काठमाडौं ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । 
 
क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले राससलाई जानकारी दिनुभयो । 
 
मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताउनुभयो । पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार-१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए ।
 
मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो । 
 
छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।