नवौं धारा नेपालगन्ज म्याराथन : गोपी र सन्तोषी च्याम्पियन गोपी दोस्रो पटक, सन्तोषीको ह्याट्रिक
-आस्था न्युज
मंसिर ९,२०८० काठमाडौं ।
नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौ धारा नेपालगञ्ज म्याराथनको उपाधी जितेका छन् । पार्कीले दोस्रो पटक नेपालगञ्ज म्याराथनको उपाधी जितेका हुन् । उनले यसअघि छैटौ संस्करण जितेका थिए ।
पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गरेका हुन् । उनले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पारे । गत वर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा दुरी पार गरेर उपाधी जितेका खड्का यसपटक २ घण्टा २२ मिनेट एक सेकेन्डमा दुरी पार गरेर दोस्रो भएका छन् ।
सातौ संस्करणका च्याम्पियन एपीएफका किरणसिंह बोगटी तेस्रो भएका छन् । उनले २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दुरी पार गरे । सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशी पाँचौ, प्रेमबहादुर बस्नेत छैटौ, शेरबहादुर बूढा सातौ र अजय विके आठौं भएका छन् ।
म्याराथनको उपाधी जितेका पार्कीले दुई लाख, दोस्रो भएका खड्काले एक लाख, तेस्रो भएका बोगटीले ५० हजार नगद राशि पाएका छन् । विष्टले २५ हजार, जोशीले १५ हजार, बस्नेतले १० हजार, बूढा र विकेले ५/५ हजार नगल पुरस्कार पाएका छन् ।
हाफ म्याराथन महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन् । लगातार तेस्रो पटक उपाधी जित्दै श्रेष्ठले ७५ हजार रुपैया पुरस्कार पाएकी छन् । उनले एक घण्टा २० मिनेट ५१ सेकेन्डमा दुरी पार गरिन ।
आठौं संस्करणमा उनले एक घण्टा १६ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेकी थिइन् । हाफ म्याराथनमा फूलमति राना दोस्रो भएकी छन् । उनले एक घण्टा २१ मिनेट एक सेकेन्डमा दुरी पार गरिन् । रानाले ५० हजार पुरस्कार पाइन् । छैटौ संस्करणमा उपाधी जितेकी पुष्पा भण्डारी तेस्रो भएकी छन् । एक घण्टा २३ मिनेट ३६ सेकेन्डमा दुरी पारेकी उनले २५ हजार पुरस्कार पाएकी छन् । चौथो भएकी विन्द्राधान्के श्रेष्ठले १५ हजार, पाँचौ राज्यलक्ष्मी रावलले १० हजार, छैटौ भएकी गणना भण्डारीले ५ हजार पुरस्कार पाएकी छन् ।
१० किलोमिटर दौडमा पुरुषतर्फ दुर्गाबहादुर बूढा, नरेन्द्रसिंह रावल र धर्म महर्जन क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । १० किलोमिटर महिलातर्फ राममाया बूढा प्रथम, आशा रावत दोस्रो र मनसरा बूढा तेस्रो भएका छन् । १० किलोमिटर दौडको महिला र पुरुष दुवैका विजेताले ३० हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार पाएका छन् ।
स्कूलस्तरीय ५ किलोमिटर दौडमा छात्रतर्फ दीपेन्द्र बोहरा प्रथम, अजय पाण्डे दोस्रो र सरोज सिंह तेस्रो भएका छन् । छात्रातर्फ कल्पना बूढा प्रथम, विमला कार्की दोस्रो र मोतिकला डाँगी तेस्रो भएका छन् । उनीहरुले ५ हजार, तीन हजार र दुई हजार पुरस्कार पाए ।
५ किलोमिटर ह्वीलचियरमा पुरुषतर्फ यज्ञबहादुर खत्री प्रथम, रोहितकुमार तमोली दोस्रो र शमशेर अलि बेहना तेस्रो भएका छन् । उनीहरुले ५ हजार, तीन हजार र दुई हजार पुरस्कार पाएका छन् । ५ किलोमिटर ह्वीलचियरको महिलातर्फ देउकुमारी थारु प्रथम र श्यामकली थारु दोस्रो भएका छन् । उनीहरुले पाँच हजार र तीन हजार पुरस्कार पाए ।
किड्स रनमा छात्रतर्फ अभिशेष खड्का प्रथम, आयुश रावल दोस्रो र प्रवीण राना तेस्रो, छात्रातर्फ कृति परियार प्रथम र हिमानी बटाला दोस्रो भएका छन् । ५ किलोमिटर कर्पोरेट रनमा योगेश मल्ल प्रथम भएका छन् ।
म्याराथनका विजेताहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगञ्ज म्याराथनका संस्थापकका अध्यक्ष टीएस ठकुरी, केएल दुगड समूहका सीइओ प्रदीप छाजेड, निर्देशक सौरभ दुगडलगायतले पुरस्कार वितरण गरेका थिए ।
एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथन नेपाल सरकार र तत्कालिन सशस्त्र माओवादीका बीचमा मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा गर्ने गरिन्छ । यो वर्षको म्याराथन विजेताले लण्डन म्याराथनमा अवसर पाउने आयोजकले बताएका छन् ।