Trending :
 

देश बलियो बनाउन नेपाली बलियो हुनुपर्छ : प्रसाईं

मंसिर ०९,२०८०

-आस्था न्युज

मंसिर ९,२०८० काठमाडौं । 
राजधानी केन्द्रित प्रदर्शनको अगुवाइ गरेर अहिले चर्चामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कुनै खास प्रकारको राजनीतिक व्यवस्था भन्दा पनि मुलुक भ्रष्टाचारी, तस्करी र गरिबीले आक्रान्त भएको बताएका छन् । 
 
चाबहिलको सिफल चौरमा शनिबार आयोजित प्रदर्शनमा उनले भने ‘कुनै पनि दल विशेषका भ्रातृ संगठनलाई म गाली गर्दिन्, कति गाली गर्नु नेपाली नागरिकलाई भुटानी बनाएर पठाइदिने देशमा ?’ नेताहरुको चरित्र ठिक नभएको भन्दै उनले रोष प्रकट गरे । 
 
‘राष्ट्रको झण्डा बोकेर दौरा सुरुवाल लगाएर राष्ट्रिय भेषमा हिँडेको मान्छेलाई पुलिसले लगेर थुन्छ यो देशमा,’ उनले भने, ‘आज हामीले छानेका नेताहरु तस्करसँग पार्टनरसिप गर्छन् । हिजो राजा हामीले खेद्यौं तर राजा खेदेपछि राजा सम्झिने वातावरण दुर्गा प्रसाईले बनाएको हो की प्रचण्ड, केपी, शेरबहादुरले बनाएको हो ?’ 
 
दलहरुले राजनीतिक प्रणाली परिवर्तनपछि जनअपेक्षाअनुसार शासन चलाउन नसकेको उनले बताए । नेपालीलाई बलियो बनाउने काम दलहरुले गर्न नसकेको टिप्पणी उनले गरे । ‘युवा संघ, नेविसंघ सबैलाई भन्न चहान्छु यी पार्टी झण्डा छोड्दिनु, नेपालको झण्डामुनि आउ गरिबी, भ्रष्टाचारी, तस्कर विरुद्ध लडौं र मुलुक बचाउँ । आज यिनीहरु मर्ने हो भने नेपाली जनताले खसी काटेर खान्छन्,’ उनले भने, ‘नेपाल बलियो बनाउन नेपालको व्यापार, व्यवसाय र नेपाली बलियो हुनुपर्छ । यो प्रजातन्त्र, गणतन्त्रले हामीलाई नाङ्गो बनायो, यो व्यवस्था परिवर्तन नगरिकन कसैको अवस्था परिवर्तन हुनेवाला छैन ।’