प्रधानमन्त्रीले देशको हितमा काम नगरिरहेको एमालेका महासचिवको आरोप
-आस्था न्युज
मंसिर १०, २०८० काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार जनहित विपरित विदेशीको हितमा काम गरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणमा नेपालको हित भन्दा भारतले चाहेको कुरा सुम्पेर आएको आरोप लगाए ।
एमालेको मुगु जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार त्यहाँ पुगेका पोखरेलले एमालेको सरकार ढलेपछि दाहाल नेतृत्वको सरकारको चालामाला ठीक नभएको बताए
‘एमालेलाई सरकारबाट हटाइसकेपछि गठबन्धनको नाममा जुन प्रकारको राजनीति भैरहेको छ, त्यो राजनीतिले के गरिरहेको छ भने अदालत अदालत जस्तो छैन । जनताको विस्वास र भरोसा टुटेको छ । संसद संसदजस्तो छैन जनताको आवाज त्यहाँ उठ्न छोडेका छन् । सरकार सरकारजस्तो छैन, देश र जनताको हितका पक्षमा काम गर्न सकिरहेको छैन ।
अहिलेको सरकार विदेशीहरुको सामु लम्पसार पर्ने सरकारका रुपमा गठबन्धन सरकार रहेको छ,’ पोखरेलले भने ।
‘प्रधानमन्त्री भारत भ्रमणमा गएर भारतीयहरुले जेजे चाहन्छन् सबैकुरा सुम्पनुभयो र बदलामा १५ वटा मुर्रा राँगा लिएर आउनुभयो ।’ पोखरेलले व्यंग्य कसे ।
उनले देशको अर्थतन्त्र विग्रनु र देश विग्रनुको पछाडि पनि प्रधानमन्त्री दाहालकै हात रहेको आरोप लगाए ।
कार्यक्रममा कर्णाली प्रदेशका ईन्चाज समेत रहेका पूर्व मन्त्री लेखराज भट्टले नेतृत्व वर्गको कमजोरीका कारण विकासको सम्भावना बोकेर पनि कर्णाली आर्थिक, सामाजिक विकासमा पछि परेको धारणा राखे ।