‘नबिल एसएसई’ कार्यक्रमबाट ८६९ जनालाई रोजगारी प्रदान
-आस्था न्युज
मंसिर ११, २०८० काठमाडौं ।
सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको सो कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् ।
दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा ८६९ जनाले रोजगारी पाएका छन् । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमको कारण सामाजिक वित्त प्रवद्र्धनमा बैंकको भूमिका थप बढेको बताए ।
‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं,’अध्यक्ष पौड्यालले भने । उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।