सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
-आस्था न्युज
मंसिर ११, २०८० काठमाडौं ।
बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गर्नुभएको थियो । उहाँले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताउनुभयो ।
“अछामबाट अध्ययनका लागि काठमाडौँ पुग्दासम्म नृत्यलाई पछ्याइरहेँ”, देउडा गीत छायाँकनका क्रममा महेन्द्रनगरमा भेटिनुभएकी रोजीले भन्नुभयो, “सानैदेखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु ।” सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत देउडालगायत यहाँका लोकसंस्कृति झल्किने मौलिक गीतहरूको म्युजिक भिडियो बन्ने क्रम विगतभन्दा अधिक छ ।
पुराना पुस्ताका देउडा गायकदेखि अहिले युवा पुस्ताका कलाकार गीत–सङ्गीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवर्द्धन गर्न सक्रिय रहेको उहाँको भनाइ छ । “यहाँको लोक, देउडा संस्कृतिबारे कलाकारिताका माध्यमबाट युवा पुस्तासित नजिक गराउने काममा यहाँका सबै कलाकारको अहम् भूमिका छ”, उहाँले भन्नुभयो, “देउडा सबैतिर खेलिने र चर्चित क्रम बढ्दै छ ।”
अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत रोजी अध्ययनमा पनि अब्बल विद्यार्थी हुनुहुन्छ । “स्कुलमा कुनै कार्यक्रम भयो कि रोजीको खोजी भइहाल्थ्यो”, उहाँले भन्नुभयो, “कलाकारितामा अछामबाट त्यो बेला अगाडि आउनु सामाजिकरूपले पनि ठूलो चुनौती थियो ।”
आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवा–आमाको प्रेरणाले नै यो क्षेत्रमा आएको उहाँको भनाइ छ । विगत चार वर्षयता ‘स्टेज’ कार्यक्रममा समेत सहभागी हुन थालेपछि अहिले उहाँको माग मुलुकभित्रका साथै भारतका विभिन्न सहरमा समेत बढ्दै गएको छ ।
काठमाडौँको प्रसिद्धी कला समूहमा नृत्य प्रशिक्षण लिनुभएकी रोजी अहिले सोही कला केन्द्रमा बालबालिकालाई नृत्यसमेत सिकाउने गरेको बताउनुहुन्छ । “अछाममा मेला-महोत्सव हुँदा त्यो बेला केटी मान्छेलाई नृत्यमा स्थान दिँदा सामाजिकरूपले पनि टीकाटिप्पणी हुन्थे”, उहाँले भन्नुभयो, “अहिले त्यो साँघुरो सोचाइ हट्दै गयो ।”
सुदूरपश्चिमको देउडालाई पाका पुस्ताले यहाँसम्म पुर्याएको उहाँको भनाइ छ । देउडा नयाँ पुस्ता पनि त्यत्तिकै लोकप्रिय बन्दै गएको जनाउँदै उहाँले कला, संस्कृतिको संरक्षणमा राज्यबाट पनि अभिभाकत्व चाहिनेमा जोड दिनुभयो ।
“साथीहरू सानैबाट सबैले इन्जिनियर, डाक्टर भन्ने म कलाकार भन्थे”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा अब व्यावसायिकरूपले पनि कला केन्द्र सञ्चालन गर्ने सोच बनाएकी छु ।” उहाँले ‘प्यारो अछाम’, ‘तँु गोरु लेल्लीकी’, ‘कहिले तु छाउँ हुदी’, ‘छाडी गै रानीले’ र ‘पोक पाँया मोरको’ लगायतका सुदूरपश्चिमका चर्चित देउडा गीतमा अभियन गर्नुभएको छ ।