रुपान्तरणका मुद्दा अघि सार्दै नागरिक अभियान घोषणा
-आस्था न्युज
मंसिर ११, २०८० काठमाडौं ।
संघीय संरचनामा प्रमुख केही दलको आलापालोमा चलेको सरकार र संसदमा उनीहरुकै वर्चस्वसँग असन्तुष्ट केही राजनीतिक समूह तथा अभियानकर्मीले ‘नागरिक पहिलो’ अभियान घोषणा गरेका छन् । काठमाडौंमा सोमबार कार्यक्रम आयोजना गर्दै ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ नाराका साथ अभियानको घोषणा गरेका हुन् ।
नेपाली राजनीतिलाई जनमुखी, लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा अग्रगामी बनाउन एक सशक्त हस्तक्षेप आवश्यक देखिएकाले अभियान घोषणा गरिएको उनीहरुले जनाएका छन् ।
‘विद्यमान दुरावस्था, विग्रह, गतिरोध र यथास्थितिवादमा फसेको समाज, राष्ट्र र राजनीतिमाथि सुसंस्कृत, लोकतान्त्रिक र अग्रगामी हस्तक्षेप नगर्ने हो भने लोकतान्त्रिक प्रणाली, सामाजिक सामञ्जस्यता र अर्थतन्त्रको क्षमता समाप्त भई देशको अस्तित्व नै खतरामा पर्नसक्ने गहिरो अनुभूति हामीलाई भएको छ । यही निष्कर्षका साथ हामीले ‘नागरिक पहिलो’ (पीपुल फस्र्ट) अभियान घोषणा गरेका छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
राजनीति, दल र नेतृत्वको समस्या, भ्रष्टाचार, प्रादेशिक स्वायत्ततता, आर्थिक समस्या, सार्वभौमसत्ता र आत्मसम्मानमा क्षयीकरण लगायत समस्या अभियानले औंल्याएको छ । पहिलो चरणमा नागरिक सरोकारका पाँच मुख्य मुद्दाहरुमा केन्द्रित भई अभियान संचालन गर्ने जानकारी दिइएको छ । जनसरोकारका मुद्दालाई बुँदागत रुपमा तयार पारेर संसद सचिवालयमा पठाउने अभियानले जनाएको छ ।