Trending :
 

नेपाल सुपर लिगः अमाथको गोलमा इलामको पहिलो जित

मंसिर १२,२०८०

-आस्था न्युज

मंसिर १२, २०८० काठमाडौं ।
काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले पहिलो जित निकालेको छ । 
 
सोमबार  भएको खेलमा झापा एफसीमाथि १-० को जित निकालेको हो । इलामले ८७ औं मिनेटमा निर्णायक गोल गरेको थियो । ८४ औं मिनेटमा पाएको पेनाल्टीलाई खेर फालेका इलामका अमाथ एनडले ८७ औं मिनेटमा उत्कृष्ट गोल गर्दै इलामलाई अग्रता दिलाए । 
 
इलामका भरत खवासले दिएको पासलाई अमाथले प्रहार गरेको पोस्ट चार्जलाई झापा किपर स्टेफन क्युपिकले जोगाउन प्रयास गर्दा आएको बललाई आफै अमाथले गोल गरे पछि खडेरी तोडिएको हो । खेलको तेस्रो मिनेटमा झापाका भरत खवासले फिनिसिङ गर्न सकेनन् । 
 
नवौं मिनेटमा झापाका छिरिङ लामाले इलामका अमाथलाई लडाएपछि पाएको फ्रिकिक पोष्टभन्दा माथिबाट गएको थियो । २६ औं मिनेटमा झापाका फर्नान्डो टोरेसले गरेको फ्रिकिकलाई इलामका खेलाडीले ब्लक गरेका थिए । ६७ औं मिनेटमा अमाथले गरेको प्रहार पोष्ट नजिकबाट आउट भएको थियो । ६९ औं मिनेटमा इलामले लगातार पोस्टमा चार्ज गरे पनि सफल हुन सकेन । 
 
८२ औं मिनेटमा झापाका योगेश गुरुङले इलामका भरत खवासलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । सोही पेनाल्टी ८४ औं मिनेटमा अमाथले प्रहार गर्दा पोस्टभन्दा माथिबाट गएको थियो । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा झापाले बराबरी गर्ने अबसर खेर फालेको थियो । लक्ष्मण रुचालको पासमा प्रदिप लामाको हेडर इलामका कुथुले बचाउँदै इलामलाई १-० को जित दिलाउन सफल भए ।