नेपालमा पहिलो पटक समलिङगी विवाह दर्ता
-आस्था न्युज
मंसिर १३, २०८० काठमाडौं ।
समान लिङगीविचको विवाह दर्ता गरेर अस्थायी अभिलेख राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अनुसार नेपालमा पहिलो पटक सामलिङ्गी विवाह दर्ता भएको छ।
काठमाडौँ जिल्ला अदालतले सर्वोच्चकै आदेश अस्वीकार गरे पनि स्थानीय निकायले सामलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गरेको छ।
सर्वोच्चको अन्तरिम आदेश अनुसार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको थियो।
परिपत्रमा सर्वोच्च अदालतको २०८० असार १२ गते जारी गरेको आदेश अनुसार नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूको विवाह गर्दा गरी अस्थायी अभिलेख राख्न भनिएको थियो।
सोही अनुसार बुधबार माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी गाउँपालिकामा दर्ता भएको छ। गाउँपालिकाले विवाह दर्ता गरी जारी गरेको प्रमाण पत्रमा सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको उल्लेख गरिएको छ।
माया तेस्रोलिंगी समुदायकी अनि सुरेन्द्र समलिंगी। उनीहरुले ६ वर्ष अगाडि पञ्चेबाजा बजाएर विवाह गरेका थिए भने दुबैको परिवारले स्विकार समेत गरेको थियो। तर कानुनी रुपमा उनीहरु श्रीमान्(श्रीमती हुन सकेका थिएनन्।