Trending :
 

अब जुनसुकै विषय पढेकाले पनि अंग्रेजी र नेपालीमा एमए गर्न पाउने

मंसिर १४,२०८०

-आस्था न्युज

मंसिर १४, २०८० काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाएको छ ।
 
विश्वका अधिकांश विश्वविद्यालयले केही प्राविधिक बाहेकका विषय पढ्न विद्यार्थीले तल्लो कक्षामा पढेको विषयलाई गौण मान्ने गरेका छन् । नेपालमा भने कतिपय विषयमा माथिल्लो तह पढ्नको लागि तल्लो कक्षामा पढेको विषयको आधारमा भर्ना नपाउने अवस्था थियो ।
 
२४ असोजमा त्रिवि प्राज्ञिक परिषद्ले त्यसलाई तोड्दै जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर (एमए) मा नेपाली तथा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको थियो ।
 
त्यस अनुसार अंग्रेजी र नेपाली विषय विभागहरूले भर्ना खुलाएका छन् । अधिकांशले त्रिविको निर्णयलाई सकारात्मक मानेका छन् भने कतिपयले विद्यार्थी कम भएपछि विद्यार्थी बटुल्ने दाउ भनेका छन् ।
 
नेपाली विषय केन्द्रीय विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेल भने नेपाली भाषाको विकासका लागि यो निर्णय अत्यन्तै जरूरी रहेको बताउँछन् ।
 
प्रवेश परीक्षामा उत्तीर्ण भएकाले मात्रै भर्ना पाउने र आन्तरिक परीक्षामा फेल हुनेले अन्तिम परीक्षामा सहभागी हुन नपाउने व्यवस्था भएकाले कतिपयले चिन्ता गरे जस्तो नेपाली भाषा नबिग्रने उनी बताउँछन् । नेपाली विषय नपढेको भए पनि रुचि भएकाहरू नेपाली भाषा साहित्यमा अब्बल रहेको भन्दै विभाग प्रमुख प्रा.डा. लुईंटेलले तल्लो तहमा नेपाली पढेकाले मात्रै नेपाली भाषाको वृद्धि, समृद्धि गर्न सक्छ भन्ने कुतर्क भएको बताए ।
 
एक जना मात्रै विद्यार्थीको लागि भए पनि समय अनुसार नीतिनियम परिवर्तन गर्नुपर्ने र शैक्षिक गुणस्तर वृद्धि गर्दै जाने उनले बताए । 
 
अंग्रेजी विभाग प्रमुख प्रा.डा. जीवलाल सापकोटा पनि अंग्रेजी विषयमा स्नातकोत्तर पढ्न आवश्यक योग्यतामा परिमार्जन गर्नुपर्ने महसुस धेरै वर्ष अगाडि नै भएको बताउँछन् ।
 
उनका अनुसार २०७६ सालमै अंग्रेजी विषयको समितिले निर्णय गरेर पठाएको थियो, तर प्राज्ञिक परिषद्‍मा अंग्रेजी नै नपढेका विद्यार्थीलाई स्नातकोत्तरमा अंग्रेजी साहित्यको आधारभूत ज्ञान दिन नसकिने भन्दै निर्णय गर्न मानेन । त्यसैले अन्य विषयबाट अंग्रेजी विषयमा स्नातकोत्तरमा भर्ना भएका विद्यार्थीको लागि ‘ब्रिज कोर्स’ को रूपमा पहिलो सेमेस्टरमा ३२ घण्टाको नन क्रेडिट कोर्स पढाउनुपर्ने व्यवस्था गरिएको थियो ।