Trending :
 

सुशासन समितिद्वारा गृहमन्त्री श्रेष्ठसँग भूकम्पपीडित व्यवस्थापनको विवरण माग

मंसिर १४,२०८०

-आस्था न्युज

मंसिर १४, २०८० काठमाडौं ।
राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको पुनर्वास, उद्धार, पुननिर्माण तथा त्यसका दीर्घकालीन व्यवस्थापनको सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग विवरण लिएको छ ।
 
बिहीबार समितिले उद्धार, राहत र अस्थायी पुनर्वासको व्यवस्थापन लगायत विषयमा गृह मन्त्रालयले हालसम्म गरेको कार्य र प्रभावित जिल्लामा रहेका पीडितका समस्या समाधानको विषयमा गृहमन्त्री श्रेष्ठलाई समितिमा बोलाएर प्रगति विवरण माग गर्दै छलफल गरेको हो । 
 
त्यस क्रममा उपप्रधान एवं गृहमन्त्री क्षेष्ठले प्रभावित जिल्लाका पीडितको राहत तथा उद्धारमा सरकारले तदारुकता साथ काम गरेको समितिलाई बताए । 
 
समितिले गरेको स्थलगत निरीक्षणमा कतिपय प्रभावितले अझै त्रिपाल तथा राहत नपाएको, केन्द्र र स्थानीय निकायबीच समन्वय अभावमा पीडितको विवरण संकलन गर्न ढिलाई भएको र चिसो बढ्दै गएकाले पीडित समस्यामा परेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
 
गृह प्रशासन, प्राधिकरण र सम्बन्धित निकायकाबीच सम्न्वय अभाव भएको समितिको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने, ‘जति चिसो बढ्छ त्यसको कारणले नागरिकको स्वास्थ्य प्रतिकूल हुने र जीवन पनि जाने खतरा हुन्छ । त्यसमा हामी संवेदनशील छौं र छिटोभन्दा छिटो अस्थायी आवास निर्माण गर्न सहजीकरण गरिरहेका छौं ।’
 
समितिले स्थलगत निरीक्षणमा जाँदा ५० वर्षीय महिलामाथि बलात्कार प्रयास भएको तथा चोरी डकैतीका घटना जानकारीमा आएको उल्लेख गर्दै सोबारे गृहमन्त्रीको जवाफ मागेको थियो । 
 
गृहमन्त्रीले प्रभावित क्षेत्रमा बलात्कार प्रयास तथा चोरीका घटनाबारे आधिकारिक रुपमा जानकारी नआएको बताए ।