Trending :
 

तारा बरालसँग विवाह गर्ने सहमति नभएको पूर्वएआईजी चन्दको स्पष्टोक्ति

मंसिर १४,२०८०

-आस्था न्युज

मंसिर १४, २०८० काठमाडौं ।
नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको बताएका छन् । 
 
काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्ध  मात्रै रहेको बताए । 
 
तारा बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनले दाबी गरे । बरालले आफूसँग विभिन्न रेकर्ड छ भनेर भ्रम फैलाउने काम गरेको आरोप उनको छ । भ्रम फैलाएर हनी-ट्रयापमा पार्न खोजेको पनि हुनसक्ने उनले आशंका व्यक्त गरे ।
 
‘तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको’ टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै कामबारे भ्रममा नपर्न आग्रह गरे ।
 
चन्दकी श्रीमतीको २०६२ सालमा निधन भएको थियो । त्यसपछिको १८ वर्ष आफूले दुईटा बच्चाको आमा–बाबुकै भूमिका निर्वाह गरेर बसिरहेको उनले बताए ।
 
उनले अहिले देशभर हनी–ट्रयापिङबाट धेरै मानिस पीडित भएको बताए । ‘पीडित हुनेको संख्या हेर्दा हनी–ट्रयापरविरुद्धको संगठन नै बनाउन पर्लाजस्तो भएको’ टिप्पणीसमेत उनले गरे ।