त्रिविले स्नातकोत्तर टपरलाई दिने पदक हटाउने
-आस्था न्युज
मंसिर १४, २०८० काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको ‘कुलपति पदक’ अबदेखि नदिने भएको छ ।
विश्वविद्यालयमा मूल्यांकनको आधार ग्रेडिङ प्रणालीअनुसार हुने भएकाले सबै संकायमध्ये उत्कृष्ट विद्यार्थीलाई दिइने मेडल कटौती गर्न लागिएको हो ।
कुलपति पदकमा तीन तोला सुन राखिएको हुन्छ । ०१६ देखि गत वर्ष अर्थात् ४८औँ दीक्षान्त समारोहसम्म सो पदक वितरण गरिएको थियो । आगामी २ पुसमा हुने ४९औँ दीक्षान्त समारोहबाट यो पदक रोकिनेछ ।
मूल्यांकनको आधार फरक भएकाले यसलाई हटाउन लागिएको विश्वविद्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्प जोशीले सबै संकायमध्येबाट सर्वोत्कृष्ट अंक ल्याउनेलाई दिइने पदक मात्रै हटाउन लागिएको जानकारी दिए ।