Trending :
 

ललितपुर महानगरमा दोस्रो चरणमा जडान गरिएका स्मार्ट सडक बत्ती सञ्चालनमा

मंसिर १५,२०८०

-आस्था न्युज

मंसिर १५, २०८० काठमाडौं ।
ललितपुर महानगरमा दोस्रो चरणमा जडान गरिएका स्मार्ट सडक बत्ती सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिकाको ६० र विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा दोस्रो चरणमा स्मार्ट सडक बत्ती जडान गरिएको हो । 
 
पहिलो चरणमा छुटेका ठाउँहरुमा दोस्रो चरणमा बत्ती जडान गरिएको महानगरपालिकाले जनाएको छ । सडकबत्ती उद्घाटन समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय तहहरुले समन्वय गरे देशभरका सहर उज्यालो पार्न सकिने बताए । 
 
उनले भने ‘यो लाइट ललितपुर महानगरपालिकालाई नै पहिलो भयो । अहिले दशैभरि स्मार्ट सडक बत्तीको तयारी चलेको छ । यो महानगरपालिका यसको सुरुवातमा पर्नु भएको छ । हामीले यसमा ४० प्रतिशतको लगानी गरेका छौ ।’ 
 
तारहरु सञ्जालले नराम्रो देखिएकाले त्यसलाई हटाउनुपर्ने उनले बताए । मुख्य सहरी क्षेत्रबाट तारहरु देखिने ठाउँबाट हटाउने काम भइरहेको उनले बताए । 
 
‘हामीले मुख्य सहरका रोडहरुमा तारलाई अन्डरग्राउन्ड गरौ भनेर ठूलो प्रोजेक्ट ल्याएका छौ । काठमाडौं, लतिपुर, भक्तपुरमा गर्ने भन्ने योजना भयो तर धेरै स्थानमा काम गर्न सकिएको छैन । यो दुर्भाग्यपूर्ण अवस्था हो, हाम्रो नेपालमा धेरै स्थानमा सहकार्य भएको छैन,’ उनले भने । 
 
विकासका काममा सम्बद्ध निकायबीच समन्वयको ठूलो समस्या रहेको उनले बताए । ‘अन्डरग्राउन्ड तार राख्ने यस्तो महँगो प्रोजेक्ट ल्याएका छौ, गाह्रो पनि छ तर यसलाई समन्वय गरेर गरौं भनेर गर्दा पनि गर्न सकेको छैन । यो हामी बीचको समन्वय नभएको कारणले बेबारिसे हुँदैछ,’ उनले भने । 
 
फरक फरक निकायले अड्को थाप्ने प्रवृत्ति विकासे योजनाका लागि बाधक भएको गुनासो उनले गरे । ‘यहाँ वनमा गए वनै राज्य, सडकमा गए सडकै राज्य, अनि काम चाहिँ कहाँ गर्ने ? यो अवस्था आउनुमा हामी सबै जिम्मेवार छौ । त्यसकारण आफ्नो देश र क्षेत्रको विकासमा हामी आफैले काम गर्नुपर्छ,’ 
 
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सडक बत्ती नभएकाले हुने गरेको दुर्घटनाको जोखिम अब हट्दै जाने बताए । 
 
‘धेरै दुर्घटनाहरु हुने गरेको छ त्यसको कारण भनेको बत्ती नभएर नै हो । कुसुन्ती, धोबीघाटमा धेरै दुर्घटनाहरु हुने गरेको छ, त्यसकारणले हामीले त्यहाँ बत्ती बाल्नको लागि प्रयासरत छौं,’ उनले भने, ‘यसबाट एकजनाको मात्रै ज्यान जोगियो भने हाम्रो लागि ठूलो उपलब्धी हुनेछ र यसलाई हामी पुरा गर्ने छौ ।’ 
 
स्मार्ट सडक बत्तीमा कतै समस्या आए महानगरपालिकालाई खबर गर्न उनले सबैमा आग्रह गरे । ‘जसले पनि कुनै स्थानमा बत्ति निभ्यो भने फोन गरेर भन्न सक्नु हुने छ,’ उनले भने ।