Trending :
 

संघीयतापछि अपाङ्गता भएकाहरुको अधिकार कमजोर भयोः अध्यक्ष आचार्य

मंसिर १५,२०८०

-आस्था न्युज

मंसिर १५, २०८० काठमाडौं ।
राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देविदत्त आचार्यले संघीयता आएपछि अपाङ्गता भएकाहरुको अधिकार स्थापित हुनुपर्नेमा अझ कमजोर भएको बताएका छन् । 
 
शुक्रबार काठमाडौंमा महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तीनै तहको सरकारमा नागरिक समाजको भूमिका खुम्चिएको अवस्था रहेको भन्दै संघीयता आएपछि अपाङ्गता भएकाहरुको अधिकार स्थापित हुनुपर्नेमा कमजोर भएको बताएका हुन् । 
 
उनले भने, ‘न उहाँहरुले सशक्त रुपमा आफ्नो काम गर्न सक्नुभएको छ, न त संस्थाले गर्न खोजेको काममा सहयोग पुर्याउने काम गर्नु भएको छ । संघीय, प्रदेश र स्थानीय सरकारमा  नागरिक समाजको भूमिका खुम्चिएको अवस्था छ । संघीयता आएपछि हाम्रो अधिकार स्थापित हुनुपर्ने बेलामा कमजोर भएको छ ।’
 
उनले संघीय सरकार र नेपालको संविधानले अपाङ्गताको सम्पूर्ण व्यवस्थापन गर्ने कुरा स्थानीय तहको एकल अधिकार भनेर उल्लेख गरेको भए पनि अपाङ्गता भएकाको अधिकार सम्बन्धी ऐन नियमावलीको केही कुराहरु खुम्च्याइएकोले स्थानीय स्तरमा सेवा सुविधाहरु राम्रोसँग प्राप्त गर्न नसकेको बताए । 
 
उनले भने, ‘संघीय सरकार र संविधानले अपाङ्गताको सम्पूर्ण व्यवस्थापन गर्ने कुरा स्थानीय तहको एकल अधिकार हो भनेर उल्लेख गरेको छ । अपाङ्गता भएकाको अधिकारसम्बन्धी ऐन नियमावलीको केही कुरा खुम्च्याइएको छ । त्यसैले स्थानीय स्तरमा सेवा सुविधाहरु प्राप्त गर्न सकेको अवस्था छैन ।’