Trending :
 

चार सवारी ठोक्किएर अवरुद्ध कोशी राजमार्ग १४ घण्टासम्म पनि खुलेन

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
एकै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अझै खुल्न सकेको छैन् । 
 
राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका-६, कोलबोटे भन्ने स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थिए । 
 
एकै ठाँउमा चार वटा सवारी साधन दुर्घटना भएपछि अवरुद्ध बनेको सडकखण्ड खुलाउन क्रेनको सहायता लिइरहेको प्रहरीले जनाएको छ । 
 
सुरुमा दुर्घटनाग्रस्त टिपरलाई पन्छाएर बाटो खुला गर्न नसक्ने भएपछि अर्को क्रेन ल्याउँदा बाटो खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी जाजुबाबु महर्जनले जानकारी दिए । 
 
शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो । सोहि टिपरमा साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटना भयो । त्यसपछि लगातार अघिल्ला दुर्घटनामा परेको टिपर मै ठोक्किएर अर्को सवारी दुर्घटनाग्रस्त भएको हो । एकपछि अर्को सवारी दुर्घटना भएसँगै सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।
 
पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडी समेत दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उनी सामान्य घाइते छन् ।
 
ओरालो र घुम्ती सडक भएको कारण दुर्घटा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले दुईओटा क्रेन घटनास्थलमा लगेर बाटो खुलाउने प्रयत्न गरिरहेको जनाएको छ ।