Trending :
 

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले असर पु¥याएको क्षेत्रमा खटिएका रुकुम पश्चिमका पत्रकारलाई सहयोग उपलब्ध गराउनुभएको छ ।
 
रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीलाई भूकम्प पीडित क्षेत्रका ३० पत्रकारका लागि राहतस्वरुप ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गर्नुभएको हो । 
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, उपाध्यक्ष उदय जीएमलगायतको उपस्थिति थियो । 
 
भूकम्पबाट पीडित व्यक्ति र भूकम्पले क्षति पु¥याएको स्थलमा समाचार सङ्कलन गर्दै आएका पत्रकारलाई  चिसोको समयमा राहत पुगोस भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । 
 
ती सामाग्री सम्बन्धित क्षेत्रमा खटिएका  पत्रकारलाई  आजै वितरण गरिएको पत्रकार महासङ्घका जिल्लाअध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
 
चिसोको समयमा पत्रकारका लागि न्यानो कपडा उपलब्ध गराउनाका साथै जिल्लामै आएर मोफसलका पत्रकारलाई भेटघाट गरी हौसला बढाउँदा आफूहरुको मबनोबल बढेको  उहाँको भनाइ थियो । 
 
हिजो सल्यान जिल्लाको विभिन्न ठाउँमा भूकम्पपीडितसँग  भेटघाट गर्नुभएकी मन्त्री शर्मा आज रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित क्षेत्रमा पुग्ने कार्यक्रम रहेको बताइएको छ।