Trending :
 

कोप-२८ मा नेपालको सहभागिता उपलब्धिमूलकः प्रधानमन्त्री प्रचण्ड

मंसिर १८,२०८०

-आस्था न्युज

मंसिर १८, २०८० काठमाडौं ।
राष्ट्र संघीय जलवायु सम्मेलन कोप-२८ मा नेपालको सहभागिताले विश्वको ध्यान आकृष्ट गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बताएका छन् । आइतबार साँझ स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गरिएको बताए ।
 
उनले भने ‘ग्लोबल स्टकटेक हाइ लेबल लीडर्स इभेन्ट अन एडेप्टेसन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मैले पेरिस सम्झौताको प्रतिबद्धता अनुरूप नेपालले दोस्रो नेशनल डिटरमाइन्ड कन्ट्रीब्युसन पेस गरिसकेको एवम् राष्ट्रिय अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराएको छु । जलवायु परिवर्तनको असर विरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै विश्व तापमान वृद्धिको सीमा १.५ डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गरेको छु ।’ 
 
जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको  परिचालनमा विलम्ब गर्न नहुनेमा आफूले जोड दिएको उनले बताए । 
 
‘मैले नेपालको तर्फबाट भनाइ राख्दै हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगण्य योगदान रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएकाले यथार्थलाई दृष्टिगत गर्दै जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएँ । साथै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल सरकारले चालेका कदमबारे पनि मैले जानकारी गराएको थिएँ,’ उनले भने ।
हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकाले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको उनले बताए । 
 
यूएई भ्रमणका क्रममा अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका कामकारवाही, कठिनाइ÷चुनौतीहरू लगायतका विषयमा जानकारी लिएको पनि उनले बताए । ‘संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवाहरू उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवम् प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशन दिएको छु’ उनले भने, ‘संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको छु ।’
 
नेपाली राजदूतावासबाट आयोजित त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गरेको पनि उनले बताए । 
 
‘नेपाल सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अवलम्बन गरेका नीति तथा कार्यक्रमहरूले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको धारणा नेपाली समुदायका प्रतिनिधिहरूबीच राखेको छु,’ उनले भने, ‘विदेशी भूमिमा दुःख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउँदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको छु ।’
 
नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ तथा दुबई चेम्बर्सलेसंयुक्त रूपमा दुबईमा आयोजना गरेको नेपाल दुबई बिजनेस फोरममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले प्राथिमकता प्राप्त क्षेत्रमा लगानी गर्न यूएईका लगानीकर्ताहरूलाई आह्वान गरेको उनले जानकारी दिए । 
 
जलवायु सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्रमोदीसँगै विभिन्न मुलुका सरकार प्रमुख र उच्चस्तरीय प्रतिनिधिसँग भेट भएको र आपसी हितका मामिलामा संवाद भएको उनले जानकारी गराए ।