जलवायु परिवर्तनको मारमा परेका मूलुकलाई वित्तीय र प्राविधिक सहयोग गर्न राष्ट्रपतिको आग्रह
-आस्था न्युज
मंसिर १९, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका राष्ट्रहरु भएको कुरा कसैले विर्सन नहुने बताएका छन् ।
मंगलबार ललितपुरमा इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पौडेलले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सिमानाभित्र नभई सीमा पारी र विश्वस्तरमासमेत पर्न जाने बताए ।
उनले भने,‘अहिलेको विश्व मानव सृजित जलवायु परिवर्तन,जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले सङ्कटमा छ । पहाडी संवेदनशील भू–बनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ ।’
उनले मानव सृजित जलवायु परिवर्तनको चपेटामा विश्व समुदाय परेको धारणा राख्दै पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव व्यापक परेको बताएका छन् ।
पौडेलले भने, ‘अहिलेको विश्व मानव सृजित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा छ । पहाडी संवेदनशील भू–बनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ ।’
नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएकोले नेपालका हिमाली क्षेत्र तथा त्यहाँका बासिन्दामा त्यसको असर धेरै परेको पौडेलले बताएका छन् । उनले नेपालका लागि यो ठूलो चुनौति बनेको समेत उल्लेख गरे ।
‘जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौती छ । हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्सानी पुगिरहेको छ ’, पौडेलले भने ।
पौडेलले नेपाल इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिवद्ध भएको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए ।
उनले भने, ‘हिन्दुकुश पर्वतीय श्रृङ्खला यस क्षेत्रका लागि मात्र नभएर संसारकै लागि खाद्यान्न, उर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागी महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको सबैलाई विदितै छ । हिन्दुकुश हिमालयको पर्यावरणीय सेवाको छातामुनि संसारका एक चौथाई मानव जीवन आश्रित छन् । यो क्षेत्रको संरक्षण कति महत्वपूर्ण छ भन्ने यसबाट पनि प्रष्ट हुन्छ ।’