आनन्द धाख्वालाई रात्रिकालिन टेबल टेनिसको पहिलो स्वर्ण
-आस्था न्युज
मंसिर २०, २०८० काठमाडौं
ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ६० वर्ष माथीको इभेन्टसमा आनन्द धाख्वाले स्वर्ण पदक जितेका छन् ।
मंगलवार सम्पन्न फाइनलमा वडा नम्वर १० का धाख्वाले वडा नम्वर १९ का जगदिश्वर प्रसाद जोशीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। धाख्वाले जोशीलाई ११-४, ११-४, ११-७ ले हरायो ।
यसअघि सेमिफाइनलमा जोशीले वडा नम्वर १६ का धर्मेन्द्र शाक्यलाई तथा धाख्वाले वडा नम्वर ५ का पूर्ण शंकर श्रेष्ठलाई पराजित गरेका थिए ।
त्यसैगरी ५० वर्षमाथिको इभेन्ट्समा बडा नम्वर १६ का प्रकाश धाख्वा, बडा नम्वर २० का संघ बज्राचार्य, बडा नम्वर १९का निशान प्रधान, बडा नम्वर ९ का किरण ब्यञ्जनकार, बडा नम्वर ११ का नदिम रत्न शाक्य र बडा नम्वर २० का सुरेश बज्राचार्य क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
गत मंसिर १२ गतेबाट शुरु भएको रात्रिकालिन टेबल टेनिस प्रतिस्पर्धामा विभिन्न १५ इभेन्ट्समा ५ सय भन्दा वढी खेलाडीहरुले सहभागिता जनाइरहेका छन् ।
प्रतियोगिताको तेस्रो दिन खेलकै क्रममा मूल आयोजक समितिका सचिव तथा खेलाडी पुष्पराज शाक्यको निधन भएपछि खेल एक हप्ता स्थगित गरिएको थियो ।
ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरु वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन भइरहेको छ ।
कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।