Trending :
 

गृहमन्त्री नारायणकाजी श्रेष्ठको गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया

मंसिर २०,२०८०

-आस्था न्युज

मंसिर २०, २०८० काठमाडौं 
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । 
 
मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको र अहिले उनको स्वास्थ्य अवस्था स्थीर रहेको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ । 
 
गृह मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको हो । 
 
उनको मुटुको रक्तनलीमा आंशिक अवरोध र छातीमा असहज महसुस भएपछि गएराति अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ । 
 
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचार जारी रहेको उल्लेख गरिएको छ । 
 
यसअघि गत कात्तिकमा चीन भ्रमणमा रहेको समयमा पनि उपप्रधानमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि स्टेन्ट राखिएको थियो ।