महिलालाई निद्रा पर्याप्त मात्रामा प्राप्त भएन भने मधुमेहको खतराः अध्ययन

मंसिर २०,२०८०

-आस्था न्युज

मंसिर २०, २०८० काठमाडौं ।
कोलम्बिया विश्वविद्यालयमा हालै भएको अध्ययनका अनुसार महिलालाई निद्रा पर्याप्त मात्रामा प्राप्त भएन भने उसमा मधुमेहको खतरा १६ प्रतिशतसम्म बढ्नेछ । महिलाले लगातार ६ हप्तासम्म आफ्नो निद्रा ९० मिनेट कम गर्दा उनीहरुको मर्निङ्ग फाष्टिङ इन्सुलिन १२ प्रतिशतसम्म बढेको अध्ययनमा शोधकर्ताहरूले भेट्टाएका थिए ।
 
मर्निङ्ग फाष्टिङ इन्सुलिन शरीरमा ब्लड सुगरको लेभल र दोस्रो खालको मधुमेह मापन गर्ने एक जरुरी मार्कर हो । इन्सुलिनको मात्रा ब्लड सुगर लेभलको अनुपातमा बढ्छ ।
 
सास फेर्नु, खान खानु र पानी पिउनुपछि जीवनको लागि सबैभन्दा जरुरी चिज हो निद्रा । निद्राको असर हाम्रो रोग प्रतिरोधात्मक क्षमता, शरीरको तौल, दिमागको फङ्गशन मात्रै होइन ब्लड सुगर र बिपीसम्म हुन्छ । सूक्ष्म तरिकाले हेर्ने हो भने निद्राको क्वालिटीले असर नगर्ने हाम्रो शरीरमा कुनै पनि गतिविधि पाउनै मुस्किल छ ।
 
डायबेटिज केयर जर्नलमा प्रकाशित कोलम्बिया विश्वविद्यालयको यो अनुसन्धानअनुसार निद्राको कमीले पुरुषको तुलनामा महिलामा खासगरी मेनोपज भइसकेका महिलाको ब्लड सुगरको लेभललाई धेरै प्रभावित बनाउँछ । वैज्ञानिकका अनुसार महिलाको शरीरको विशिष्ट हर्मोनल उतारचढावका कारण निद्राप्रतिको लापरबाही बढी हानिकारक छ ।
 
अध्ययनमा समावेश गरिएको एक तिहाइ महिलाको मेनोपज भइसकेको थियो । कूल ३८ मध्ये ११ जनाको मेनोपज भए पनि स्वास्थ्यसम्बन्धी अन्य मानकमा उनीहरू फिट थिए । अर्थात् कसैमा पनि मधुमेह थिएन । ब्लड सुगर सामान्य थियो । उनीहरू नियमित रूपमा सातरआठ घन्टा निदाउँथे ।
 
अध्ययनको बेलामा उनीहरूको निद्रालाई दुई हिस्सामा विभाजित गरियो । एक समूहलाई सामान्य जस्तै सुत्न भनियो । अर्को समूहको निद्रालाई डेढ घण्टा कम गरियो । ६ हप्ताको अवधिमा दुवै समूहको ब्लड सुगर लेभलको साथमा मर्निङ फाष्टिङ इन्सुलिन पनि हेरियो । निद्रामा ९० मिनेट कटाती गर्दा मेनोपज नभएका महिलाहरुको मर्निङ फाष्ट इन्सुलिन १५ प्रतिशत र भएकाहरूको २० प्रतिशत बढेको भेटियो ।