Trending :
 

रुसी सेनामा भर्ती गराउने भन्दै ठग्ने गिरोहका १२ पक्राउ

मंसिर २०,२०८०

-आस्था न्युज

मंसिर २०, २०८० काठमाडौं ।
नेपालीलाई रुसी सेनामा भर्ती गराइदिन्छौं भन्दै ठगी गर्ने गिरोह रहेको आरोपमा पक्राउ गरिएका १२ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । 
 
प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार छानबिनपछि विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । 
 
पक्राउ पर्नेहरुमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
 
उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, रकम र लेनदेनका कागजातहरु बरामद भएको एसएसपी खत्रीले बताए । उनले भने,‘उहाँहरुबाट पासपोर्टहरु, नगद र कागजातलगायतका दस्तावेजहरु बरामद भएका छन् ।’ 
 
पक्राउ परेकाहरुलाई कारबाहीका लागि मुद्दा चलाउन अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिइएको जानकारी उनले दिए ।
 
रुस–युक्रेन द्वन्द्व चलिरहँदा नेपाली रुसी सेना रहेको पुष्टि भएको थियो । अवैध भर्तीको खबर बाहिरिएपछि प्रहरीले त्यसरी पठाउने गिरोहको खोजी थालेको जनाएको छ ।
 
फोटोः नेपाल न्यूज बैक