Trending :
 

घट्दो जन्मदरलाई रोक्न बढी बच्चा जन्माउन उत्तर कोरियाका नेता किम जोङको आह्वान

मंसिर २१,२०८०

-आस्था न्युज

मंसिर २१, २०८० काठमाडौं ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशका महिलाहरूलाई सम्बोधन गर्दै घट्दो जन्मदरलाई ध्यान दिन विशेष अपिल गरेका छन् । 
 
उनले महिलालाई बढी सन्तान जन्माउन आग्रह गरेको भिडियो उत्तर कोरियाको सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनमा शेयर गरिएको थियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
 
११ वर्षपछि पहिलो पटक राजधानी प्योङयाङमा आयोजित आमाहरुको सम्मेलनमा किम बाहेक कैयौं महिलाहरु पनि रोएको देखिएको थियो । किम जोङले भने– सबै आमाले धेरै सन्तान जन्माउनु देशभक्ति हो भन्ने बुझेपछि मात्र शक्तिशाली समाजवादी देश निर्माण गर्ने हाम्रो लक्ष्य अगाडि बढ्न सक्नेछ ।
 
उनले असामाजिक व्यवहारलाई जरैदेखि उखेल्ने र उत्तर कोरियाको विकासमा सहयोग गरेकोमा आमाहरूलाई धन्यवाद पनि दिए । 
 
किमले एकभन्दा बढी सन्तान भएका परिवारलाई आवास, खाना र चिकित्सा सुविधाका लागि प्राथमिकता दिइने बताए । उनले बढी सन्तान हुने आमालाई उपचारमा अनुदान र प्राथमिकताको घोषणा पनि गरेका छन् ।
 
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार उत्तर कोरियाको जन्मदर १.६ मात्रै छ, जुन निकै कम हो ।  
 
विज्ञहरूका अनुसार उत्तर कोरियामा जनसङ्ख्या कायम राख्न जन्मदर २.१ पुग्नुपर्छ । कोरोना महामारीका बेला विश्वभर लगाइएको प्रतिबन्धका कारण देशले धेरै समस्याको सामना गर्नु परेको छ । 
 
त्यहाँ करिब २.५० करोड मानिस बस्छन्, जो भोकमरीबाट पीडित छन् ।
 
यसका साथै उत्तर कोरियाका नागरिक र विशेषगरी महिलाविरुद्धका मानवअधिकार अपराध पनि बढ्दै गएका छन् । 
 
तानाशाह किम जोङले यसअघि पनि यस्ता धेरै आदेश दिएका छन् । दुई वर्षअघि आफ्ना पिता तथा देशका पूर्व तानाशाह किम जोङ–इलको १०औ पुण्यतिथिमा किम जोङले मानिसहरूलाई हास्न, किनमेल गर्न र मदिरा सेवन गर्न प्रतिबन्ध लगाएका थिए । 
 
यसैगरी यसै वर्षको मार्चमा किमले बालबालिकालाई हलिउड फिल्म वा सिरिज हेर्न प्रतिबन्ध लगाएका थिए । 
 
उनले भनेका थिए– यदि बालबालिकाले हलिउड फिल्म वा सिरिज हेरे भने उनीहरु र उनीहरुका अभिभावक जेल जान सक्छन् । यति मात्र होइन, उनीहरुका अभिभावकलाई ६ महिनासम्म श्रम शिविरमा पठाएर मजदुरको रुपमा काम गर्न लगाइनेछ ।