जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
-आस्था न्युज
मंसिर २१, २०८० काठमाडौं ।
वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको चुनौतीलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त अरब इमिरेट्स ९इमिरेट्स० को दुबईमा जारी जालवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) का क्रममा नेपाल पेभिलियनमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्रालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको ‘विल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसन: पिपुल नेचर एण्ड एक्सन’ विषयक कार्यक्रममा उहाँले भन्नुभयो, “ जलवायुको चुनौती सामना गर्न समुदायमा आधारित दृष्टिकोणमार्फत स्थानीय समुदायको सक्रिय सहभागितामा प्रकृति संरक्षण आवश्यक छ । यसमा आधारित समान दृष्टिकोणलाई सुदृढ पार्ने गरी तल्लो तहको निरन्तर प्रयास खुसीको विषय हो । जलवायुका कार्य सुदृढ गर्न र सबै सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न थप वित्तीय स्रोत ल्याउनुपर्छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा पपुलर जेन्टलले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तहलाई सबल बनाउने र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव डा दीपककुमार खरालले जलवायुमा आधारित समाधानका उपायका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराउनुभएको थियो ।
सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जलवायुको चुनौती समाधानका लागि नेपालले कानुन निमार्णका क्रममा प्रकृतिमा आधारित समाधानका उपायहरुलाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा कोषका सदस्यसचिव शरद्चन्द्र अधिकारीले कोषले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तह र समुदायलाई प्रोत्साहन गर्ने तथा सबल बनाउने काम गरिरहेको बताउनुभयो ।