Trending :
 

सतीघाटको सामयिक विकासमा जोड

मंसिर २१,२०८०

-आस्था न्युज

मंसिर २१, २०८० काठमाडौं ।
नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कयौँं विषयवस्तु तथा क्षेत्र खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा छन् । नेपाली भाषाका कवि, लेखक, तथा दार्शनिकका रुपमा पहिचान बनाएका आदिकवि आचार्यलाई नेपाली साहित्यको जग बसाल्ने व्यक्तित्त्वका रुपमा चिनिन्छ । भानुभक्तसँग सम्बन्धित कैयौंँ विषय हालसम्म पनि खोज तथा अनुसन्धान हुन सकेका छैनन् ।
 
आचार्यको जन्मस्थल, बाल्यकाल, युवा तथा वृद्धअवस्थाका धेरै विषयमा हालसम्म कुनै खोजी नभएकाले खोज तथा अनुसन्धान गर्नुपर्ने देखिएको हो । उहाँको अन्त्येष्टिका विषयमा पनि खोजी गर्नुपर्ने भानुभक्त जन्मस्थल विकास समितिले जनाएको छ ।
 
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित धर्मशाला ९शिखर कटेरी० मा विसं १८७१ असार २९ गते जन्मनुभएको थियो । राष्ट्रिय विभूित आचार्यको बाल्यकाल, युवा र वृद्धावस्थालगायत विषयमा खोज तथा अनुसन्धान गर्नुपर्ने समितिका निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । जन्मस्थलका बारेमा प्रचारप्रसार र प्रवद्र्धन भए पनि अन्य विषय भने प्रचारप्रसारको कमीले ओझेलमा परेका भन्दै अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ थियो ।
 
“भानुभक्तको विसं १९२५ असोज ७ गते देहावसन भयो । देहावसनको मिति लेखिएको शिलापत्र पाइन्छ । उहाँको निधनपश्चात् पार्थिव शरीरको अन्त्येष्टि ९समाधि० कहाँ गरियो रु भन्ने विषयमा कतिपय साहित्यकारहरु नै जानकार नहुन सक्छन्”, रानाभाटले भन्नुभयो, “जन्मस्थलको विकास, संरक्षण र प्रवद्र्धन भए पनि समाधिस्थलको प्रचारप्रसार नहुँदा गुमनाम जस्तै छ । यस विषयमा गहन अनुसन्धान हुनु आवश्यक छ ।” आचार्यका बारेमा उहाँका सन्ततिका साथै सरकारी पक्षबाट विशेष अनुसन्धान गरिनुपर्ने उहाँको भनाइ थियो ।
 
भानुभक्तको जन्मस्थल र उहाँसँग जोडिएका अन्य विषयका बारेमा जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन नसकेको रानाभाटले बताउनुभयो । “अधिकांश व्यक्तिलाई भानुभक्तको जन्मस्थलका बारेमा जानकारी भए पनि उहाँसँग सम्बन्धित अन्य विषय तथा महत्त्वपूर्ण स्थानका बारेमा हालसम्म अनविज्ञ छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय विभूति भानुभक्तको अन्त्येष्टिको विषयमा कतैबाट पनि खोजी भएको छैन । यस्ता विषयको गहन अनुसन्धान गरी प्रचारप्रसार गर्नु जरुरी छ ।”
 
मस्र्याङ्दी करिडोर (हिमालबाट आएको कर्मदा नदी)अन्तर्गत तनहुँको भानु नगरपालिका–१ सतीघाट (गाईथुने)मा भानुभक्तको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो । ऐतिहासिक एवं धार्मिक रुपमा परिचित सतीघाटको बारेमा अधिकांश मानिस अनविज्ञ छन् । भानुभक्तसँग सम्बन्धित स्थानको संरक्षण र संवद्र्धनमा स्थानीयवासीले चासो नदिँदा विशेष महत्त्व राख्ने यस्ता क्षेत्र ओझेलमा परेका हुन् । 
 
तत्कालिन समयमा नेपालका सनातनी ब्राह्मणले आफ्नो अन्त्यावस्था तीर्थस्थलमा बिताउने अभिलाषा राख्दथे । सोही अनुरुप भानुभक्तलाई पनि अन्त्यावस्थामा मस्र्याङ्दी नदीको सतीघाट (गाईथुने)मा लगी जलाश्रयमा राखिएको शिलापत्र उल्लेख छ । यो घाट चुँदीबेसीबाट करिब दुई कोस पूर्वमा पर्दछ । यस ठाउँ डुम्रेबाट भन्सार हुँदै लमजुङतर्फ जाने मुख्य राजमार्गको नजिकै पर्दछ ।  
 
सतीघाटमा दुई वटा घाट रहेको भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार दुई घाटमध्ये माथिल्लो मन्दिर रहेको स्थानमा भानुभक्तको अन्त्येष्टि गरिएको थियो । 
 
रानाभाटले भन्नुभयो, “माथिल्लो घाटमा तत्कालिन समयमा समाजमा ख्यातिप्राप्त व्यक्तित्त्वको अन्त्येष्टि गरिन्थ्यो । त्यस समयमा यस स्थानबाहेक अन्य स्थानमा लगेर अन्त्येष्टि गर्ने प्रचलन थिएन । त्यसैले माथिल्लो घाटमा नै उहाँको अन्त्येष्टि गरिएको हो ।” बाटो तथा सवारीसाधनको अभावलगायत कारण अन्यत्र लैजाने चलन नरहेको उहाँले बताउनुभयो । रासस