नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा
-आस्था न्युज
मंसिर २१, २०८० काठमाडौं ।
गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ ।
मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।
प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ । एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उहाँले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिनुभयो ।
“दुई घण्टाको फरकमा क्रुजसिपबाट सेवा प्रदान गर्नेछौँ”, उहाँले भन्नुभयो, “क्रुजसिपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।” सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उहाँले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताउनुभयो ।
एकपटकमा एक सय ५० जनासम्मलाई ‘क्रुजिङ’को सेवा प्रदान गर्न सकिने भन्दै उहाँले म्युजिक भिडियो सुटिङ, फिल्म सुटिङ, फोटोसहितका विभिन्न सेवा पनि क्रुजसिीपबाट उपलब्ध गराइने जानकारी दिनुभयो । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको मागअनुसार सेवा सुविधा उपलब्ध गराइने जनाउँदै उहाँले नियमित क्रुजमा भने रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरुले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने बताउनुभयो ।
क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले क्रुजले हिउँदे ‘अफर’ जारी गर्दै केही समयका लागि यात्रुलाई क्रुजिङको शुल्कसमेत घटाएको बताउनुभयो । उहाँकाअनुसार क्रुजमा यात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क निर्धारण गरिएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि यो शुल्क रु दुई सय तोकिएको छ ।
“पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने क्रुजसिपले आफ्नो नियमति क्रुजिङमा निःशुल्क सेवा उपलब्ध गराउनेछ”, बस्यालले भन्नुभयो ।
विसं २०७९ माघ १ गतेदेखि सञ्चालनमा आएको क्रुजसिप नेपालकै पहिलो र एकमात्र क्रुजसिप भएको बस्यालको भनाइ छ । उहाँका अनुसार क्रुजसिप सञ्चालन भएकै वर्ष नेपालको पूर्वदेखि पश्चिमसम्मका यात्रुले सेवा लिएका छन् । गएको याममा प्रतिदिन सरदर एक सय ५० जनाले क्रुजसिपमा यात्रा गर्ने गरेको बस्यालले जानकारी दिनुभयो ।
दुई तला र एउटा तीन सय ६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको बस्यालले बताउनुभयो । उहाँका अनुसार क्रुजको दोस्रो तल्लामा ८० जना क्षमता तथा तीन सय ६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता रहेको छ ।
क्रुजसिप सञ्चालनका लागि कम्पनीले पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ । नारायणी नदीमा बग्ने पानीले गरेको धार परिवर्तनका कारण तथा नदीजन्य पदार्थ उत्खनन्का लागि क्रुजसिपले आफ्नो पूरा क्षमतामा यात्रा गराउन नसकेको कार्यकारी निर्देशक ढुङ्गेलले बताउनुभयो ।
भरतपुर महानगरपालिका–१६ को काप्रेघाटमा स्टेशन रहेको क्रुजसिप सञ्चालनपछि नवलपुर र चितवनको पर्यटन प्रवद्र्धन हुँदै आएको होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले बताउनुभयो ।
अहिले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष भनेर घोषणा गरिएको अवस्थामा पुनःसञ्चालनमा आएको क्रुजसिपले नवलपुरमा समेत पर्यटकलाई आकर्षण गर्न भूमिका खेल्ने उहाँको भनाइ छ । नारायणी नदीलाई एकै ठाउँबाट बग्ने वातावरण सिर्जना गरेर क्रुजसिपलाई देवघाटदेखि गोलाघाटसम्म नै सञ्चालन गराउने सकेमा नवलपुर, चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा कायापलट हुने चुकेको भनाइ छ । रासस