Trending :
 

निलगाई र बँदेलले बालीमा क्षति पुर्याउँदा किसान हैरान

मंसिर २२,२०८०

-आस्था न्युज

मंसिर २२, २०८० काठमाडौं ।
बन क्षेत्रबाट निस्केर गाउँ प्रवेश गरी निलगाई र बँदेलले बालीमा क्षति पुर्याउने गरेपछि कृषक चिन्तित भएका छन् । बन नजिक रहेका उत्तरी भेगका गाउँहरुबाट जंगली जनावर निलगाई र बँदेल खेतमा आउने गर्छन् ।
 
प्रायः साँझको बेलामा आउने निलगाई तथा बँदेलले बाली खाने र माडेर नष्ट पार्ने गरेको कृषकहरुको गुनासो छ । मेहनत गरेर उब्जाएको बाली जंगली निलगाई र बँदेलले खान थालेपछि चिन्तित भएको रौतहट कटहरिया नगरपालिका-४ का कृषक गणेश साहले बताए ।
 
वर्षभरका लागि उत्पादन गरिने अन्नपात जंगली जनावरले क्षति पुर्याउँदा यस भेगका कृषक चिन्तित भएको उनको भनाई छ । भारतीय सिमानादेखि उत्तर वन क्षेत्रसम्म लालबकैया नदीको दुुवै किनारमा रहेका काँसघारी र उखुबालीमा लुकेर बस्ने निलगाई, घोडगदहा, बँदेल साँझ परेपछि बारीमा पस्न थाल्छन् ।
 
नजिकैको सामुदायिक वन र राष्ट्रिय वनबाट आउने निलगाई र बँदेलले किसानहरुले लगाएको उखु, गहुँ, तोरी, केराउ, मसुरो, केरा, तरकारी बालीमा बढी क्षति गर्ने गरेको छ । 
 
निलगाईले फतुवा विजयपुर नगरपालिका पेटभर्वाका किसानहरुको खेतमा बढी क्षति पुर्याएको छ । स्थानीय किसानहरु भरदुल साहको २० कट्ठा, हरुनी साहको १० कट्ठा, श्रीकान्त यादवको १५ कट्ठा, नगिना साहको १५ कट्ठा, सुरेश यादवको १६ कट्ठा,  रघुनाथ साहको १५ कट्ठा, तेजिलाल यादवको करिब १ बिगहाको बालिमा क्षति गरेको छ । 
 
पछिल्लो केही वर्षदेखि निलगाईले जिल्लाका प्रायः सबै स्थानीय तहका किसानले लगाएको बालीमा क्षति पुर्याउने गरेको छ । फतुवा विजयपुर, कटहरिया, मौलापुर, देवाही गोनाही, गुजरा लगायत जिल्लाको प्रायः सबै स्थानीय तहका किसानहरुले लगाएका बालीमा क्षति पुगेको त्यहाँका कृषकहरुले गुनासो गरेका छन् । 
 
हाल जंगली जनावरको क्षतिबाट आफ्नो बाली जोगाउन नदी किनारका मचान (काठको बिश्राम गर्ने ठाउँ) बनाएर रातभरी टिन पिटेर बस्ने गर्दछन् । कतिपय किसानले जंगली जनावर धपाउन राति पटका समेत पड्काउने गरेका छन् । 
 
प्रायः निलगाईले धनियाँमा बढी क्षति गर्ने भएकाले यहाँको कृषकले खेती लगाउन छाडेका छन् । नगदेबालीको रुपमा रहेको धनियाँको गन्ध टाढैबाट निलगाईले सुुँघेर थाहा पाउने र क्षति गर्ने भएकाले लगाउन छाडिएको कृषकहरुको भनाई छ । 
 
पटक-पटक निलगाई नियन्त्रण गर्न स्थानीय तह तथा डिभिजन वन कार्यालय रौतहटमा अनुरोध गर्दा पनि कुनै वास्ता नगरेको कृषकहरुको गुनासो छ । डिभिजन वन कार्यालय रौतहटका अनुसार निल गाईलाई क्षति पुर्याउनु कानुनी अपराध हो ।
 
निलगाई तथा बँदेलबाट बाली जोगाउनलाई कृषक नै सचेत हुनु पर्ने वन कार्यालयको भनाई छ । जंगली जनावरलाई क्षति नपुर्याउन समेत डिभिजन वन कार्यालय रौतहटले आग्रह गरेको छ ।