कटहरियामा तीन पसलमा चोरी, एक जना पक्राउ
-आस्था न्युज
मंसिर २२, २०८० काठमाडौं ।
रौतहटको कटहरिया बजारमा रहेका तिन वटा पसलबाट सामन चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं. ५ बस्ने रामेश्वर राय यादव रहेको प्रहरीले जनाएको छ ।
पसलबाट सामन चोरी गरेर भाग्दै गरेको अवस्थामा यादव ईलाका प्रहरी कार्यालय कटहरियाको गस्ति टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरिक्षक रामछवेला यादवका अनुसार चोरीको घटना भएको पसल नजिकबाट दुई बजेको समयमा पक्राउ गरिएको हो ।
कटहरिया बजारको हनुमान मन्दिर नजिकमा रहेको शिवशङ्कर साह तेलीको गल्ला पसल, दिनेश प्रसाद जयसवाल र अवध प्रसाद जैसवालको पसलबाट नगद सहितका सामनहरु चोरी भएको हो ।
गल्ला पसलको मूल गेटमा लगाईएको तीन वटा ताला फोडेर (काठको बक्सा) बाट करिव एक लाख रुपैयाँ चोरी भएको गल्ल पसलका शिवशङ्कर साहले बताए ।
कटहरिया नगरपालिका भवन नजिकको मूल सडकमा रहेको दुई वटा काठको घुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामान चोरी लागेको प्रहरीले बताएको छ ।
एक जनाको नगद रु. १५ हजार, र अर्काको नगद रु. ३५ हजार तथा विभिन्न सामान चोरी लागेको उनीहरुले प्रहरी समक्ष बताएका छन् ।
चोरी भएको घटना थाहा पाउने बितिकै खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा चोरलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेको चोरको साथबाट करिब रु. १५ हजार नगद र केही थान सामनहरु बरामद भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।