ऋण लिन नागरिकता बन्धकी
-आस्था न्युज
मंसिर २२, २०८० काठमाडौं ।
साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।
डाक्नेश्वरी-३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन सदाको नागरिकता भारतीय साहुले करिब एक दशकदेखि बन्धकी राखेपछि उहाँहरुको परिवार ठूलो समस्यामा परेका छन् ।
गाउँ नजिकै सञ्चालनमा रहेको इँटा उद्योगमा काम गर्दै आएका उहाँहरुको नागरिकता सोही इँटा उद्योगका मालिक भारतको मधुवनी जिल्ला तुलसीयाही ग्राम लौकही थाना निवासी जगदिश साहले बन्धकीमा राख्नुभएको छ ।
“इँटा उद्योगमा काम गरिरहेका बेला विसं २०७१ म ५० किलो चामल मालिक साहसँग मागेँ । उहाँले चामल दिएबापत नागरिकता बन्धकीमा राख्नुभयो”, ६० वर्षीया सुकराती सदाले भन्नुभयो, “चामलाबापत भट्टामा छ वर्ष काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै साहुले नागरिकता फिर्ता दिन मानिरहेका छैनन् ।” नागरिकता फिर्ता दिन पटकपटक साहुलाई भने पनि अझै भट्टामा काम गर्नुपर्ने अनि मात्रै नागरिकता फिर्ता दिने जवाफ आउने गरेको उहाँले गुनासो गर्नुभयो ।
“विसं २०७६ चैतमा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेको बेला सबै काम बन्द भएर दैनिकी चलाउन मुस्किल भएको थियो । त्यही समयमा मालिकसँग ऋणबापत ५० किलो चामल लिएको थिएँ”, ४५ वर्षीय भिखन सदाले भन्नुभयो, “साहुले चामल लिन कुनै सामान बन्धकी राख्नुपर्छ वा भट्टामा थप समय मजदुरी गर्नुपर्छ नत्र ऋण पाइन्न भनेर पर्काइदिए ।” आफूसँग बन्धकीमा राख्ने केही नभएकाले नागरिकता नै राख्नुपरेको उहाँको दुखेसो थियो ।
“मसँग बन्धकीमा राख्न जग्गा, गरगहना वा कुनै चलअचल सम्पत्ति नभएकाले काम गरेर ऋण तिर्छु चामल दिनुस् भन्दा नमानेर बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो”, भिखनले भन्नुभयो । नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको उहाँले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएको, विपन्नताका कारण साहुसँग ऋण लिएको ५०/५० किलो चामलबापत लामो समयसम्म इँटाभट्टामा काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै थप काम गर्न साहुले दबाब दिँदै आएको उहाँहरुको भनाइ थियो । ऋण चुक्ता नभएसम्म बन्धकीमा राखिएको नागरिकता फिर्ता नगर्ने भन्दै साहुले सबैलाई फर्काउने गरेको अर्का स्थानीय ५० वर्षीय अच्छेलाल सदाले जानकारी दिनुभयो ।