Trending :
 

एलपीएलः युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी

मंसिर २२,२०८०

-आस्था न्युज

मंसिर २२, २०८० काठमाडौं ।
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार भएका दुई खेलमा युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
 
समूह ’बी’ अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोस्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो ।
 
समूह ’ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोस्रो जित दर्ता गर्यो ।
 
जितसँगै युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लबले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् । 
 
आज भएको पहिलो खेलमा युथ अफ टिकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो । युथअफ टिकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो ।
 
धनगढीका लागि सार्थक धितालले सर्वाधिक ३७ रन बनाए । मान साउदले १८ तथा विजय रानाले १२ रनको योगदान दिए ।
 
युथअफ टिकापुरको बलिङमा प्लेयर अफ द म्याच घोषित गौतम केसीले ३ विकेट लिए ।  उनले त्यस क्रममा ४ ओभरमा ३० रन खर्चिए । यस्तै, सुमित महर्जनले २ तथा मोहम्मद हुसेन र प्रकाश जैसीले १–१ विकेट लिए ।
 
यसअघि टस जितेर ब्याटिङ गरेको युथअफ टिकापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनायो । युथ अफ टिकापुरका लागि हरि चौहानले सर्वाधिक २९ रनको योगदान दिए भने गौतम केसीले २६, प्रदिप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए । अतिरिक्तको रुपमा धनगढी क्रिकेट एकेडेमीले २६ रन खर्चियो ।
 
धनगढी क्रिकेट एकेडेमीको बलिङमा लेग स्पिनर युवराज खत्री एक्लैले ४ विकेट लिए । त्यस क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए । निरज ऐरले २ तथा हिक्मत महरा र मान साउदले १–१ विकेट लिए ।
 
आजको दोस्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो ।
 
शुक्लाफाँटाले दिएको ११० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा ४ विकेट गुमाएर भेटायो । 
 
धनगढी स्पोर्ट्स क्लबका लागि प्रनित थापाले अविजित अर्धशतकीय योगदान दिए । प्लेयर अफ द म्याच घोषित भएका थापाले ३४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । वसन्त कार्कीले अविजित २७ रन बनाए ।
 
३२ रनमा ४ विकेट गुमेको अवस्थामा थापा र कार्कीले पाँचौ विकेटका लागि अविजित ७८ रनको साझेदारी गरे ।
 
शुक्लाफाँटाको बलिङमा सुशील रावलले २ तथा कैलाश ऐर र वसन्त खत्रीले १–१ विकेट लिए ।
 
यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनायो । शुक्लाफाँटाका लागि किरण ठगुन्नाले सर्वाधिक २९ रन बनाए भने बिशाल ऐरले २३, रोशन साउदले १७ तथा वसन्त खत्रीले १३ रन योगदान दिए ।
 
धनगढी स्पोर्ट्स क्लबका बलर अमर सिंह रौटेलाले ३ विकेट लिए । त्यस क्रममा ४ ओभरमा मात्र १० रन खर्चिए । भोजराज भट्टले २ विकेट तथा दिपक ठकुरी र भुवन कार्कीले १–१ विकेट लिए ।
 
प्रतियोगिताअन्तर्गत सातौँ दिन शनिवार पनि दुई खेल हुनेछन् । बिहान ९ बजे युथअफ टिकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो १ बजे सुदूरपश्चिमाञ्चल एकेडेमी र गरुडा नगरपालिकाबीच खेल हुनेछ ।
 
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
 
प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता छ ।