Trending :
 

मौसमः तराइमा हुस्सु, जुम्लामा जाडोले जनजीवन प्रभावित

मंसिर २३,२०८०

-आस्था न्युज

मंसिर २३, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको जनाएको छ ।
 
महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
 
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
 
कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 
साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 
उता जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले राससलाई जानकारी दिनुभयो । 
 
तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताउनुभयो । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताउनुभयो ।   
 
चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरिया’का बिरामीको सङ्ख्या बढेका छन् । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन् । 
 
लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीमा प्रमुख कमल रावतले बताउनुभयो ।